अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गरिने «

अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गरिने

राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा जुटेको छ । सत्तारुढ गठबन्धनको आइतबार बसेको बैठकले एक दुई दिन भित्रमै अध्यादेशलाई निष्क्रिय बनाउने र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले अध्यादेशका सन्दर्भमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाले अध्यादेश निष्कृय बनाउन कानुनी अड्चन नआउने निष्कर्ष पनि बैठकले निकालेको छ ।
बैठकमा जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउन माग गरेको थियो । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकाले जसपाको माग बमोजिम अध्यादेश निष्कृय बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन् ।
यस्तै, सत्ताधारी पाँच दल प्रदेश सरकारमा पनि गठबन्धन बनाएर अघि बढ्न सहमत भएका छन्। आइतबार बसेको बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच प्रदेशमा समेत एक भएर बढ्ने सहमति भएको हो । बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्