उत्कृष्ट विद्यार्थीलाई ओमप्रकाश गोयल स्मृति छात्रावृत्ति प्रदान «

उत्कृष्ट विद्यार्थीलाई ओमप्रकाश गोयल स्मृति छात्रावृत्ति प्रदान

विराटनगरका वरिष्ठ उद्योगपति एवं समाजसेवी दीनबन्धु गोयलले स्थापना गरेको ओमप्रकाश गोयल स्मृति छात्रावृत्ति विभिन्न विद्यार्थीलाई प्रदान गरिएको छ ।
विराटनगर–१२ स्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं साधारणसभाका अवसरमा मोरङका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई ओमप्रकाश गोयल स्टार छात्रावृत्ति प्रदान गरिएको हो । गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि प्रोत्साहन गर्न छात्रावृत्ति प्रदान गरिएको सहकारीले जनाएको छ । छात्रावृत्तिको राशि जनही ७ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ । गोयलले आफ्ना दाजुका नाममा स्थापित छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, सहकारी संस्थाका अध्यक्ष रमेशकुमार पोखरेललगायतले माला लगाएर नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थालाई लामो समयदेखि सहयोग गर्नेहरू हेमचन्द्र वस्ती, पर्शुराम प्रसाईंलाई पनि सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट ऋणी र बचतकर्ताहरूलाई पनि सम्मान गरिएको थियो । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सहकारीको माध्ययमबाट सहकार्य गर्न सजिलो भएको धारणा राखे । मुलुकको आर्थिक र समृद्धिको मूल आधार सहकारी भएको उनले बताए ।
सहकारीका अध्यक्ष अध्यक्ष रमेशप्रसाद पोखरेलले संस्थाले वार्षिक २ अर्बभन्दा बढीको कारोबार गरेको जानकारी दिए । २०५४ सालमा स्थापना भएको संस्थामा हाल १ हजार ९ सय ७७ जना सदस्य छन् भने ३ करोड ९४ लाख ८७ हजार सेयर पुँजी छ । आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाले कूल बचत ३० करोड ६१ लाख ४६ हजार, कर्जा लगानी ३० करोड १३ लाख ५३ हजार, विभिन्न कोषमा ३ करोड ५८ लाख ४८ हजार र बैंक मौज्दात ८ करोड ९७ लाख ५६ हजार रहेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्