मोरङ र सुनसरीका उद्योगको सर्वेक्षण सुरू «

मोरङ र सुनसरीका उद्योगको सर्वेक्षण सुरू

उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ ।
तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण–२०७८ सुरु गरिएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । “एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गर्ने हाम्रो योजना छ” उनले भने ।
संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्यांक संकलन गरिने संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु लिएर ५ जना गणकहरु तथ्याकं संकलनका लागी सबै उद्योग प्रिितष्ठानहरु पुग्ने छन् ।
संगठनले तथ्याकंको गुणस्तरियतालाई मध्येनजर गर्दै गणकहरुका लागि २ दिनको तालिमसमेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने छन् र यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइनबाटै मोनिटर गर्न सकिने छ ।
फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याकं संकलनको काम असोज महिना भित्र पूरा गर्ने र मंसिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ ।
संगठनले तथ्यांक सकंलनका लागि खटिने संगठनका प्रतिनिधिलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धीत यथार्थपरक सूचना एवं तथ्यांक उपलब्ध गराई संगठनको औद्योगिक तथ्याकं र डाटाबेस तयार गर्ने यो अभियानमा साथ सहयोग गर्न अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्