१० दिने पर्यटन काज तत्काल कार्यान्वयन गर्न माग «

१० दिने पर्यटन काज तत्काल कार्यान्वयन गर्न माग


होटल संघ नेपालले ४० प्रतिशत भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाइसकेकोले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन पहलको माग गरेको छ । संघले विश्व पर्यटन दिवसका अवसरमा सरकारसँग यस्तो माग गरेको हो ।
लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता कार्यको संघले स्वागत गरेको छ ।
सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थासम्बन्धी आदेश २०७८ को शीघ्र पूर्ण रुपमा कार्यान्वयन गर्न र कतिपय द्विविधा भएका विषयहरुमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गर्न हानले आग्रह गरेको छ ।
सरकारले अब पर्यटन पुनरुत्थानको लागि सहजीकरण गर्नुपर्ने बताउँदै व्यवसायीहरुको तर्फबाट पनि आ–आफ्नो तवरबाट सक्दो सहयोग हुने हानले बताएको छ ।
हानले यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको महसुस गरेको बताउँदै विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनाहरुलाई खोपको मात्रा पूरा भएका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपंक्तिमा रही खटिने कार्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध हुने र यसबाट संक्रमण पनि न्यून हुने हानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्