एनआरएनएको अध्यक्षमा आचार्यद्वारा उम्मेदवारी घोषणा «

एनआरएनएको अध्यक्षमा आचार्यद्वारा उम्मेदवारी घोषणा


गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा आइतबार एक समारोहको आयोजना गरी आचार्यले २०२१/०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।
उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा संस्था बनाउने अभियान रहेको बताए । “संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने छु” उनले भने “पैत्रिक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु ।”
अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पु¥याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ । गैरआवासीय नेपालीलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसलाई पनि जोड्ने उनको योजना रहेको छ । थाइल्याण्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई पिपुल अफ नेपाली ओरिजिन (पीएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे ।
पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् भने समाजसेवी पनि हुन् । करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।
अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए । विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवद्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे ।
नेपालमा गैरआवासीय नेपालीको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, “विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुनेछ ।” नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पतिलाई रोकी नेपालमै लगानीको वातावरण बनाउने बिषयलाई प्राथमिकता दिने उनले बताए । संघका अग्रज अभियन्तालाई सम्मान गर्दै संघको अभियानमा नयाँ पुस्तालाई सक्रिय बनाउने आफ्नो उद्देश्य रहेको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्