ट्रम्प थर भएकै कारण गिज्याइयो «

ट्रम्प थर भएकै कारण गिज्याइयो

  • राष्ट्रपतिले पठाए विशेष पाहुनाको निम्तो

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसमा मंगलबार आफ्नो दोस्रो स्टेट अफ द युनियनको सम्बोधनमा एक विशेष पाहुनालाई बोलाएका थिए । उक्त विशेष पाहुना ११ वर्षको बच्चा थियो । उनी ६ कक्षामा पढ्ने छात्र हुन् र उनको राष्ट्रपति ट्रम्पको परिवारसँग कुनै सम्बन्ध छैन ।
ह्वाइट हाउसले एक बयानमार्फत जोशुआ ट्रम्पलाई आमन्त्रण गरेको जनाएको छ । यी ११ वर्षका बालक डेलावेयरको विलमिङ्टन बस्दै आएका छन् । उनको थर ट्रम्प भएका कारण उनलाई स्कुलमा अन्य छात्रले गिज्याएर दुःख दिँदै आएका थिए ।
बयानमा जोशुआको प्रशंसा गर्दै भनिएको छ, “जोशुआलाई विज्ञान, कला तथा इतिहासको विषय मन पर्छ । उनी जनावरलाई माया गर्छन् र भविष्यमा यसैसम्बन्धी करियर बनाउन चाहन्छन् । युवा ट्रम्पको हिरो र सबैभन्दा मिल्ने साथी उनका काका कोडी हुन्, जो अमेरिकी वायुसेनाका सदस्य हुन् ।”
जोशुआमाथि स्कुलमा भएको दुव्र्यवहार दुर्भाग्यपूर्ण भएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प थर भएका कारण स्कुलका छात्र उनलाई दुःख दिँदै आएका थिए । ह्वाइट हाउस प्रथम महिला तथा ट्रम्प परिवारको समर्थनका लागि आभारी व्यक्त गर्छ भनिएको छ ।
स्टेट अफ द युनियनको वार्षिक सम्बोधनमा राष्ट्रपतिले प्रथम महिला तथा कंग्रेसका ५ सय ३५ सदस्यमध्ये कसैलाई पनि पाहुनाका रूपमा आमन्त्रण गर्न सक्छन् । यो समयमा राष्ट्रपति आफ्नो उपलब्धि तथा आगामी लक्ष्यका बारेमा जानकारी गराउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्