अस्वस्थ्य प्रतिस्पर्धाले होटलको लगानी जोखिममा «

अस्वस्थ्य प्रतिस्पर्धाले होटलको लगानी जोखिममा

बाँके-पश्चिम तराईको आर्थिक हव मानिएको बाँकेको नेपालगन्जमा दिनप्रति दिन ठूलाठूला होटलहरूमा लगानी गर्नेक्रम बढिरहेको छ । नयाँ–नयाँ सुविधासम्पन्न होटल खुल्दै गए पनि लगानीको सुरक्षा नभएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार बाँकेका होटल व्यवसायीहरूहरूले झेल्नुपरेका समस्याहरूसम्बन्धी छलफल कार्यक्रममा व्यवसायीहरूले अस्वस्थ्य प्रतिस्पर्धाका कारण न्यूनतम लागतमा होटल सञ्चालन गर्नुपरेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा किचन हट होटलका प्रवन्ध निर्देशक विनोद मैनालीले यहाँ १३ वटा ठूला होटल सञ्चालनमा रहे पनि अस्वस्थ्य प्रतिस्पर्धाले न्यूनतम मूल्यमा सेवा गरिरहनु परेको बताए । “यसले व्यवसायीहरूको लगानी असुरक्षा भएको छ,” उनले भने, “यो समस्या स्थायी रूपमा निवारण गर्न सबै व्यवसायीहरूको व्यावसायिक प्रतिबद्धता हुनुपर्छ ।”
कार्यक्रममा होटल सेन्टर प्लाजाका प्रबन्ध निर्देशक देवानन्द अर्यालले नेपालमा होटलको हवको रूपमा चौथो नम्बर नेपालगन्ज पर्ने भए पनि लगानीको तुलनामा मुनाफा लिन नसकिएको बताए । गैरसरकारी संस्थाहरूको भरमा मात्र होटल चल्न नसक्ने बताउँदै हप्तामा मुस्किलले चार दिन ग्राहक पाइए पनि व्यवसायीहरूको अस्वस्थ्य प्रतिस्पर्धाका कारण न्यूनतम दररेटमा सेवा दिनुपर्दा होटलमा गरेको लगानी जोखिममा रहेको बताए । नेपालगन्ज हुँदै मानसरोबर जाने पर्यटकहरूको संख्या बढिरहेका बेला नेपालगन्जमा ५० प्रतिशत उद्यारोमा व्यवसाय सञ्चालन गर्नुपरेको उनको भनाइ थियो ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका म्यानेजर केशव न्यौपानेले अस्वस्थ प्रतिस्पर्धाले वर्तमान समयमा होटल व्यवसाय सञ्चालनमा निकै चुनौती रहेको बताए । व्यावसायिक हितका लागि यस क्षेत्रका समस्या समाधान गर्न मापदण्ड बनाएर व्यवसायीहरू एकजुट भई अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी अधिकांश व्यवसायीहरूले हरेक क्षेत्रको मूल्य बढे पनि होटल व्यवसाय क्षेत्रमा ज्यादै न्यूनमुनाफा लिएर काम गर्नुपर्दा व्यवसायीहरू मारमा परेको बताएका थिए । ज्यादै कम मुनाफामा काम गर्नुपर्दा व्यवसायीलाई समस्या हुनुका साथै गुणस्तरीयता कायम हुन नसक्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा होटलको बर्गीकरण, कोठा भाडादर, कैलाश यात्राको दर र उधारो नीति, सेवा शुल्क, विदेशी पर्यटकका सम्बन्धमा सेवा–सुविधालगायत विविध पक्षमा साझा धारणा बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।
यसैबीच मंगलबार भएको होटल व्यवसायीहरूको छलफलमा होटलमा बासबस्ने ग्राहकलाई लक्षित गरी तिनवटा वर्गमा कोठाको मूल्य निर्धारण गरिएको छ ।
जसअन्तगर्त साना ‘ए’ वर्गका होटलको प्रतिकोठाको एकदिनको २ हजार, मझौला ‘बी’ बर्गका होटलको प्रतिकोठाको प्रतिदिन ३ हजार र ठूला ‘सी’ वर्गका होटलको प्रतिकोठा ४ हजार रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै मान सरोवरमा जान आउने पर्यटकलाई लक्षित गरी ए, बी र सीमा क्रमशः २ हजार ४ सय, ३ हजार ७ सय र ४ हजार ३ सय भाडादर कायम गरिएको छ । मानसरोवरको प्याकेजमा खाना, नास्ताको समेत व्यवस्था गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्