दुई करोडमा बनेको सिँंचाइ आयोजना असफल «

दुई करोडमा बनेको सिँंचाइ आयोजना असफल


पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा निर्माण सम्पन्न भएको सिँंचाइ आयोजना दुई वर्ष नहुँदै असफल भएको छ ।
साविक ठूलीपोखरीको वडा नं. २ स्थित बुमी र टारमा रहेको खेतबारीमा सिँंचाइ सुविधा उपलव्ध गराउने उद्देश्यले निर्माण गरिएको बूढीखोला–तिजुखोला सिँंचाइ आयोजना असफल भएको हो । गण्डकी प्रदेशको भौतीक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँंचाइ विकास डिभिजन कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ मा निर्माण भएको सिँंचाइ नहर गलत डिजाइनका कारण असफल बनेको स्थानीको गुनासो छ ।
सिँंचाइ नहरको मुहानबाट खेतबारीसम्म पानी पास नभएपछि आयोजना प्रयोगविहीन बनेको स्थानीय दिपक शर्माले जानकारी दिए ।
उक्त आयोजन एक करोड ८२ लाख रुपैयाँको लागतमा पर्वतमाला कन्ट्रक्सन प्रालिले निर्माण गरेको हो । आयोजनाको झण्डै दुई किलोमिटर नहरमध्ये बीच भागमा निर्माण गरिएको ट्यांकीबाट खेततर्फको भागमा पानी नचढेको हो । ट्यांकीभन्दा नहर उच्च भागबाट खनिएका कारण सिँंचाइ गर्ने खेतसम्म पानी आउन नसकेको कृषकहरूको गुनासो छ । त्यस्तै अन्य ठाउँमा पनि नहर भत्किने, चुहिने, पाइप बिच्छ्याइएका ठाउँमा पाइप बगाउने र बुझिने समस्या रहेको उनले बताए ।
उक्त आयोजनाको मूल नहर दुई किलोमिटर र शाखा नरह एक किलोमिटर रहेको छ । जसमध्ये आठ सय मिटर आरसीसी र १२ सय मिटर पाइपमार्फत ट्यांकीसम्म पानी ल्याइएको थियो । सिंँचाइ आयोजनाबाट साविक ठूलीपोखरी गाविस वडा नं. २ का एक सयभन्दा बढी घरपरिवारको झण्डै एक हजार हेक्टर जमिनमा सिंँचाइ गर्ने लक्ष्य राखेर निर्माण गरिए पनि गलत नहरबाट पानी सुचारु नभएका कारण समस्या भएको उपभोक्ताको दुःखेसो छ ।
सिंँचाइ अभावमा अहिले मुस्किलले एक खेतीमात्रै हुँदै आएको उक्त फाँटमा आयोजना निर्माण पश्चात तीनखेती अन्न र व्यावसायिक रूपमा तरकारी उत्पादन गर्न सकिने लक्ष्य रहे पनि आयोजना असफल भएपछि स्थानीय निरास बनेका छन् ।
जलस्रोत तथा सिँंचाइ विकास डिभिजन कार्यालयले भने स्थानीय उपभोक्ताहरूले नै निर्माण गरेको आयोजना भएकाले कार्यालयलाई दोषारोपण गर्न नहुने जनाएको छ । कार्यालय प्रमुख थलबहादुर तामाङले सामान्य रूपमा पाइप तथा नहर बुझिएर पानी नचलेको भए उपभोक्ताले नै मर्मत गर्नसक्ने बताउँदै डिजाइनको हिसाबले कुनै समस्या नरहेको बताए । उनले सामान्य खालको मर्मत उपभोक्ता समितिले नै गर्नसक्ने बताउँदै थप मर्मत गर्नुपर्ने भएमा अनुगमन र मूल्यांकनपछि निर्णय गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्