रानी नाकामा स्वागतद्वार निर्माण गरिने «

रानी नाकामा स्वागतद्वार निर्माण गरिने

विराटनगर-नेपाल–भारत सीमा नाका रानी प्रवेश गर्ने बित्तिकै अब पर्यटकले प्रदेश १ मा के–कस्ता स्थान छ भन्ने थाहा पाउनेछन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहित प्रदेश–१ को पहिचान झल्कने आकर्षक स्वागतद्वार निर्माणको तयारी सुरु भएको छ ।
रानी नाकामै निर्माण हुने प्रवेशद्वारमा प्रदेश–१ का महत्वपूर्ण स्थानको चित्र अंकित गरिनेछ । स्वागतद्वार निर्माणका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङसँग सम्झौता भइसकेको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर १५ र १७ को बीचमा प्रदेश स्वागतद्वार निर्माण गरिने भएको छ । विराटनगरसहित प्रदेश नम्बर १ को कला, संस्कृति, मौलिकता र पहिचान झल्कने प्रकारको स्वागतद्वार निर्माण हुने भएको हो । प्रदेश सरकारको ४ करोड र थप बजेट महानगरपालिका र उद्योग संगठनले व्यहोर्ने गरी स्वागतद्वार निर्माण हुने महानगरले जनाएको छ । स्वागतद्वार ओभर ब्रिजसहितको हुनेछ । जसमा अहिलेको विराटनगरमा बढ्दो जनघनत्वका कारण बाटो काट्न समस्या हुने अवस्थालाई ध्यानमा राखेर यही स्वागतद्वारलाई ओभर ब्रिजसहित निर्माण गरिने महानगरका मेयर भीम पराजुलीले बताए ।
“भारतसहित तेस्रो मुलुकबाट आउने पर्यटकका लागि यो स्वागतद्वारले आकर्षित गर्नेछ,” उनले थपे, “स्वागतद्वारमा विभिन्न ठाउँको चित्र अंकित हुनेछ । जसले पर्यटकलाई आकर्षित गर्नेछ ।” एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढाइएको महानगरका मेयर पराजुलीले बताए ।
अध्यागमन कार्यालय स्थापना नहुँदा जोगबनी नाका हुँदै नेपाल प्रवेशमा भने समस्या छ । यस क्षेत्रका उद्योगी र पर्यटन व्यवसायीले अध्यागमन कार्यालय स्थापनाका लागि लामो समयदेखि माग गर्दै आएका छन् । अध्यागमन कार्यालय स्थापना भए जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकलाई सहज हुनेछ ।
आव ०७५÷७६ को बजेट, नीति तथा कार्यक्रममा विराटनगर र झापाको मेची नगरमा नेपालको पहिचान झल्कने स्वागतद्वार निर्माण गर्ने निर्णय भइसकेको हँुदा सोहीअनुसार अगाडि बढेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो बताए । “प्रदेश सरकारले बजेट छुट्याइसकेको छ,” आङ्बोले भने, “अब निर्माणको प्रक्रिया सुरु हुन्छ ।”
विराटनगरमा आवागमनमा समस्या भइरहेको समयमा यो स्वागतद्वार ओभरब्रिजसहितको निर्माण गरिने मेयर पराजुलीले जानकारी दिए । उनले स्वागतद्वार डिजाइनका लागि आह्वान गर्ने र जसले उत्कृष्ट डिजाइन गर्छ उसलाई नगदसहित पुरस्कृत गर्ने योजना रहेको बताए ।
स्वागतद्वारमा विराटनगर ऐतिहासिकतालाई पनि समेटिने उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले बताए । नेपालको इतिहासमा विराटनगरको राजनैतिक र आर्थिक योगदान अतुलनीय छ । राणा शासन अन्त्य गर्न विराटनगरको ठूलो योगदान छ । २००३ सालमा विराटनगर जुट मिलमा भएको मजदुर हड्ताललाई नै राणा शासन अन्त्य गर्ने आन्दोलनको जगका रुपमा लिने गरिन्छ । त्यस्तै वि.सं. १९९३ सालमा स्थापित विराटनगर जुट मिल नेपालकै पहिलो उद्योग हो । यही उद्योगले नेपालमा आधुनिक औद्योगिक इतिहास कोरेको पाइन्छ । “स्वागतद्वारमा नेपालकै पहिलो उद्योग र विराटनगरले गरेको राजनीति क्रान्तिका सांकेतिक विम्ब पनि राखिनेछ,” अध्यक्ष घिमिरेले थपे, “प्रदेश १ का पहिचानसहित ऐतिहासिकतालाई पनि समेट्नेछौं ।”

प्रतिक्रिया दिनुहोस्