अमेरिकी चकलेट व्यवसाय बिक्री गर्दै नेस्ले

नेस्लेले अमेरिकी चकलेट व्यवसाय २.७ अर्ब स्वीस फ्य्रांक अर्थात् २.८ अर्ब अमेरिकी डलरमा फरेरो ग्रुपलाई बिक्री गर्ने भएको छ ।
स्वीस खाद्य कम्पनीले अन्य उत्पादनमा ध्यान केन्द्रित गर्नका लागि क्रन्च, नर्डस, रन्ट र बटरफिङ्गरजस्ता ब्रान्ड बिक्री गर्न लागेको जनाएको छ ।
यो बिक्रीपछि नुटेला स्प्रेड, टिक ट्याक, फरेरो रोचरको निर्माता इटालीको फरेरो अमेरिकाको तेस्रो ठूलो चकलेट निर्माता हुनेछ ।
यो सम्झौता यसै वर्षको मार्चदेखि कार्यान्वयनमा आउनेछ ।
यो सम्झौतापछि फरेरोले अमेरिकामा उच्च गुणस्तरको उत्पादनको प्रस्ताव गर्न सक्ने जनाएको छ ।
अमेरिकी चकलेट बजार विश्वकै ठूलो हो । आईबीस वल्र्डका अनुसार यो वर्षको उत्पादन ८ अर्ब डलरको हाराहारीमा पुग्नेछ ।
नेस्ले अमेरिकामा मार्स, हर्से र लिन्डभन्दा पछाडि परेको छ । कम्पनीद्वारा उत्पादित अमेरिकी बिक्रीको हिस्सा ३ प्रतिशत मात्रै छ ।
“यो सम्झौताले कम्पनीलाई अन्य क्षेत्रहरूमा लगानी र आविष्कार गर्नका लागि सहयोग गर्नेछ । यसले भावी वृद्धि गर्ने तथा पहिले नै बजारको नेतृत्व सम्हालिरहेको क्षेत्रमा थप वृद्धि गर्नका लागि सहयोग गर्नेछ,” नेस्लेका प्रमुख कार्यकारी मार्क स्नाइडरले विज्ञप्तिमार्फत बताएका छन् ।
यसमा पेट केर, बोतलको पानी, कफी, फ्रोजन खानेकुरा र तयारी पोषणको क्षेत्र समावेश भएको उनले बताए ।
यो निर्णयले लाफी टाफी, चेबी गोबस्टपर, बेबी रुथजस्ता बालकालिकाको मन पर्ने खाद्यान्न व्यवसायको अन्त्य हुने केही विश्लेषकले बताएका छन् ।