नयाँ लगानीकर्ता जोखिममा पर्न सक्ने ठूलो सम्भावना छ «

नयाँ लगानीकर्ता जोखिममा पर्न सक्ने ठूलो सम्भावना छ

सन्तोष मैनाली, अध्यक्ष, स्टक ब्रोकर एसोसिएसन

कोभिड–१९ को महामारी, लकडाउन तथा निषेधाज्ञाजस्ता कारणले लगानीका क्षेत्रहरू ठप्पप्रायः हुँदा सेयर बजारमा लगानी गर्न उद्योगी–व्यवसायीदेखि आम सर्वसाधारणसम्म आकर्षित भएका छन् । अनलाइनमार्फत सजिलै कारोबार गर्न सकिने सुविधाका लगानीकर्ताको संख्या र कारोबार पनि विस्तार भइरहेको छ । बजारमा नयाँ–नयाँ लगानीकर्ताहरू थपिए पनि उनीहरूमा पर्याप्त मात्रामा वित्तीय साक्षरता नहुँदा ठूलो संख्यामा लगानीकर्ताहरू जोखिममा पर्ने सम्भावना रहेको बताउँछन् स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली । बजारको दिगो विकास र विस्तार गर्नका लागि नियामक निकाय बेलैमा सचेत हुनुपर्ने उनको भनाइ छ । सेयर बजारको विकास, विस्तार र यसको दिगोपनाका विषयमा केन्द्रित रही कारोबारकर्मी यादव हुमागाईं ले स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष मैनालीसँंग गरेको कुराकानीको सार :

सेयर ब्रोकर कम्पनीहरूलाई इन्साइडर ट्रेडिङमा संलग्न हुने गरेको आरोप लाग्दै आएको थियो । यस पटक नियामक निकायकै पदाधिकारी पनि यस्तै विवादमा मुछिएका छन् । नेपाली बजारमा इन्साइडर ट्रेडिङको अवस्था कस्तो छ ?
कम्पनीभित्रकै व्यक्तिहरूमार्फत हुने कारोबार इन्साइडर हो । कम्पनीका मुख्य–मुख्य लगानीकर्ताहरू, सञ्चालक, उच्च व्यवस्थापन, जसलाई कम्पनीको भित्री सूचना थाहा हुन्छ, उनीहरूले त्यसका आधारमा कारोबार गर्छन् । तर, बजारमा कम्पनीका व्यक्तिले भन्दा पनि ब्रोकरहरूले इन्साइडर कारोबार गर्छन् भन्ने माहोल बनाइयो । ब्रोकर भनेको कम्पनीभित्रको व्यक्ति त होइन । ब्रोकरमार्फत बरु ‘फ्रन्ट रनिङ’ कारोबार हुन सक्ला, कम्पनीको सूचना भएको व्यक्ति आएर सेयर किन्न थालेपछि उसका आधारमा अरूले पनि किनबेच गरेको हुनसक्छ । हाम्रो समाजमा कम्पनीको इन्साइडर बिर्सिएर ब्रोकरलाई मात्र आरोप लाग्ने गर्छ । तर, ब्रोकरबाट इन्साइडर सम्भावना छैन । ब्रोकरहरू कुनै कम्पनीको मुख्य लगानीकर्ता भएको अवस्थामा यो सम्भव होला । यस्तो भनेको एकाध केस मात्र हो ।

त्यसो भए हाम्रो बजारमा इन्साइडर ट्रेडिङ हुँदैन त ?
कम्पनीका कुनै घोषणा सार्वजनिक हुनुभन्दा चार–पाँच दिनअघि नै अस्वाभाविक कारोबार भएको हुन्छ । स्वाभाविक रूपमा त्यो इन्साइडर नै हो । हाम्रो बजारमा इन्साइडर टे«डिङ नभएको हैन, भएको छ तर यसलाई प्रमाणित गर्नै सकिँदैन । हामीले हरेक पटक सुझाव दिँदा इन्साइडरको अनुसन्धानका लागि हामीसँग कम्पनीको डेटाबेस चाहिन्छ भनेका छौं । इन्साइडर कारोबार के हो ? इन्साइडर कारोबारका लागि सूचना कोसँग हुन सक्छ । त्यो सबै डेटा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग हुनुपर्छ । अहिलेसम्म हामी त्यो डेटाबेस बनाउन लागेकै छैनौं ।
डेटाबेस राखेपछि त्यो डेटाबेसभित्र भएका व्यक्तिहरूले कुन–कुन कम्पनीको कारोबार ग¥यो, थाहा हुनुपर्छ । जसका आधारमा शंका लागेमा नियामकले अनुसन्धान गर्न सक्छ । यो अनुसन्धान म्यानुअल रूपमा सम्भव पनि हुँदैन ।
यसैगरी इन्साइडरका बारेमा हामीकहाँ कानुनी आधार पनि बलियो छैन । भर्खरै अजोड इस्योरेन्समा इन्साइडर भयो कि भनेर छानबिन अगाडि बढाइयो, तर डेटाबेस कानुनी आधार नहुँदा अघि बढ्न सकेन । यो नभएसम्म इन्साइडर नभएको ठाउँमा पनि भयो कि भन्ने आशंका गर्ने मात्र हो । यसले नयाँ लगानीकर्तालाई भम्रित मात्र बनाउँछ ।

पछिल्लो समयमा डिम्याट र मेरो सेयरको खाता संख्यादेखि आईपीओमा आवेदन गर्ने लगानीकर्ताको संख्यालाई देखाएर सेयर बजार विस्तार भयो भनिएको छ । यो कत्तिको दिगो हो ?
एक वर्षको तथ्यांक तुलना गर्ने हो भने सेयर लगानीकर्ताहरूको उत्साहजनक वृद्धि भएको छ । डिम्याट खाता ४३ लाख, अनलाइन प्रयोगकर्ताकै संख्या साढे १० लाख पुगेको छ । आईपीओमा आवेदन दिनेहरूको संख्या २३–२४ लाख पुगेको छ । तर, दोस्रो बजारमा आएर सेयर किन्ने व्यक्तिहरूको संख्या कति छ भन्ने तथ्यांक बाहिर आएको छैन । साढे १० लाखले अनलाइन सेवा लिए पनि कति व्यक्तिले सेयर किनेका छन् त ? दोस्रो बजारमा अहिले ८५ प्रतिशत लगानीकर्ताहरूले अनलाइन अर्डर राखेका हुन्छन्, अनलाइन अर्डर राख्नेको संख्या तीन लाख मात्र छ । डिम्याट पनि खुल्यो, कारोबारका लागि अनलाइन खाता पनि खुल्यो, तर नियमित कारोबार गर्नेको संख्या थोरै छ ।
यो तथ्यांक हेर्दा भोलि ती सबै लगानीकर्ताहरू दोस्रो बजारमा कारोबार गर्न सक्रिय हुन सक्ने भएकाले सम्भावना ठूलो छ । भोलि आईपीओ परेको व्यक्ति सेयर बेच्न आउलान्, वा आईपीओ नपाएपछि दोस्रो बजारबाट किन्नका लागि पनि आउलान् । उनीहरू बजारमा कारोबार गर्न आउँदा कत्तिको सचेत छन् भन्ने महŒवपूर्ण हो । सेयर लगानी जोखिमयुक्त क्षेत्र हो, लगानीकर्ताहरू विश्लेषण गर्न कत्तिको जान्दछन्, राम्रो÷नराम्रो कम्पनीको छनोट गर्न कत्तिको सक्षम छन् भन्ने विषय, बोर्ड, नेप्सेलगायत सबै सरोकारवालाका लागि च्यालेन्जको विषय हो । अहिले तीन लाख लगानीकर्ताहरू कारोबारमा सक्रिय हुँदा त विभिन्न समस्या देखिन थालेको छ । पछिल्लो समयमा कम्पनीको मूल्यांकनका आधारमा भन्दा पनि माग र आपूर्तिको अवस्थालाई हेरेर बजार चलेको प्रस्ट देखिन्छ । लगानीकर्ताहरू ह्विमको पछि लागेका छन्, सोसल मिडियाको क्याम्पेनिङ एकदमै डरलाग्दो छ । एकातिर ग्रोथ राम्रो छ, सँगसँगै जोखिम पनि एकदमै बढेको छ । यसले भोलि वित्तीय साक्षरता नभएका ठूलो संख्यामा लगानीकर्ताहरू जोखिममा पर्ने सम्भावना छ । यसमा पहिलो त लगानीकर्ता आफंै सचेत हुनुपर्छ । अर्को पक्ष भनेको सरकार, बोर्ड, नेप्सेलगायतका हामी सबै सरोकारवालाहरूले के गरेर लगानीकर्तालाई सचेत बनाउन सकिन्छ भन्नेतर्फ काम गर्न जरुरी छ ।
ब्रोकरले सचेतना कार्यक्रम गर्नुपर्छ भनेर भनिरहेका छौं । हामी आफैले पनि त्यो काम गर्नका लागि तयारी पनि गरिरहेका छौं । अर्को पक्ष भनेको ब्रोकरले ‘इन्भेस्टर एड्भाइजरी’ को भूमिका पनि पाउनुपर्छ । अहिले पनि लगानीकर्ताहरूले कुन कम्पनीको किन्दा राम्रो हुन्छ भनेर सोध्नुहुन्छ । तर, अहिले सल्लाह–सुझाव दिँदा हामी जति जिम्मेवार छौं, भोलि लाइसेन्स नै पाएपछि यो काममा बढी जिम्मेवार हुनुपर्छ । त्यो काम गर्ने अनुमति पायौं भने छुट्टै अनुसन्धान विभाग बनाउँछौं, त्यसका लागि सक्षम कर्मचारी राख्छौं, त्यसैका आधारमा हामी लगानीकर्तालाई सुझाव दिन्छौं । लगानीकर्ताहरूले बजारको हल्ला, सामाजिक सञ्जालको सूचनाका आधारमा जोखिमपूर्ण लगानी गर्नुपर्ने अवस्था हँुदैन । यसबाट सेयर खरिद गर्ने ट्रेन परिवर्तन गराउन सकिन्छ ।

बजारमा आएका नयाँ लगानीकर्ताहरूले कत्तिको सुरक्षित कारोबार गरिरहेको पाउनुहुन्छ ?
कोरोना महामारी र लकडाउनअघिसम्म ५० वटै ब्रोकरहरूको डिस्प्ले रुम खुल्ला हुन्थ्यो । बजारभरिका लगानीकर्ताहरू ती ५० कम्पनीमा बाँडिन्थे । अहिले सामाजिक सञ्जालमा सबैको एउटै समूह भएको छ । पहिले भिन्न–भिन्न समूहमा बाँडिएका लगानीकर्ताको बुझाइ फरक–फरक हुन्थ्यो र बजार हल्लाकै आधारमा लगानी गर्ने प्रवृत्ति अलि कम हुन्थ्यो । सामाजिक सञ्जालमा सबै एकै ठाउँमा जम्मा गराइदियो र त्यसैका आधारमा लगानीको निर्णय हुन थाले । यसको प्रभाव बजारमा देखिएको पनि छ । राम्रो वित्तीय अवस्था भएको कम्पनी छोड्दै जाने तर कसैले राम्रो छ भनेको आधारमा खराब कम्पनीको मूल्य पनि बढेको छ । यसले कुनै न कुनै स्थानमा पुगेर दुर्घटना निम्त्याउँछ । दुर्घटना भयो भने हिजो सीमित लगानीकर्ता मात्र पर्थे भने अब धेरै लगानीकर्ताहरू पर्छन् । ठूलो जमातले घाटा बेहो-यो भने बजारले फेरि विश्वसनीयता कायम गर्न समय लाग्छ । यसप्रति सरोकारवालाहरू बेलैमा सचेत हुनुपर्छ ।

बजारको वृद्धिलाई सफलताका रूपमा प्रस्तुत गरिरहेका नियामक निकाय यो जोखिमप्रति सचेत छैनन् र ?
बोर्ड र नेप्सेले बेलाबेलामा बुझेर लगानी गर्नुहोस् भनेर विज्ञप्तिहरू जारी गर्ने गरेकै छ । त्यही सिलसिलामै बोर्डबाट ५१ वटा कम्पनीको सूची पनि आएको हो । त्यो ठीक–बेठीक भन्ने पाटो अलग होला । नियामक निकायले सचेत हुनोस् भन्ने नै हो । अहिले दुवै निकाय नेतृत्वविहीन भएका बेला लगानीकर्ता सचेत हुनुपर्छ । हामीले औपचारिक रूपमा लगानीकर्ताहरूलाई सुझाव दिन भन्न मिल्दैन । तर पनि अनौपचारिक रूपमा तपाईंहरू कस्तो कम्पनी किन्दै हुनुहुन्छ, यसमा जोखिम कति छ लगायतका विषयमा सल्लाह दिन्छौं । तर, लगानीकर्ताहरूमा कम्पनीका सूचना र वित्तीय अवस्थालाई विश्लेषण गर्ने भन्दा पनि सामाजिक सञ्जालको प्रभाव नै बढी देखिएको छ ।

सामाजिक सञ्जालका सूचनाले सेयर बजारलाई प्रभावित ग¥यो, यसलाई नियमन गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । यो सम्भव छ ?
कसैले नियतवश बजारलाई प्रभावित हुने गरी सामाजिक सञ्जालमा सूचना प्रभाव गरेको छ भने सम्भव भएसम्म नियन्त्रण गर्नैपर्छ । सोसल मिडियाहरू सरकारको कन्ट्रोलमा नभएकाले नियन्त्रण गर्न त गाह्रो होला । तर, कुनै व्यक्तिले बहकाउमा पार्न खोजेको छ र आफू अनुकूल सूचना दिएको छ भने नियन्त्रण गर्नैपर्छ । नियामक निकायले पनि यसका लागि नियमन क्षमता बढाउनुपर्छ । भोलि दुर्घटना भएपछि तात्ने भन्दा पनि त्यसअघि नै सचेत हुनुपर्छ ।

ब्रोकर कम्पनीमार्फत मार्जिन ल्यान्डिङ सेवा सञ्चालन गर्ने योजना अघि बढ्न सकेको छैन । तर, मौद्रिक नीतिले सेयर धितो कर्जामा सीमा तोक्दा विवाद भएको छ । यो विषयलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
हामीले सुरुदेखि नै मार्जिन ल्यान्डिङ क्यापिटल मार्केटको प्रोडक्ट हो, बैंकिङ प्रोडक्ट होइन भनिरहेका छौं । हामीले मागेको धेरै वर्षपछि यसलाई कार्यान्वयन गर्नका लागि एउटा कार्यविधि आए पनि हाम्रो र लगानीकर्ताका लागि पनि रुचिकर भएन । दिने र पाउने दुवै पक्षका लागि रुचिकर नभएपछि निष्क्रियजस्तै भएको छ । कार्यविधिका केही अप्ठ्यारा विषय संशोधनको प्रक्रियामा गए पनि अघि बढेको छैन ।
मार्जिन ल्यान्डिङलाई क्यापिटल मार्केटकै प्रोडक्ट बनाउने हो भने राष्ट्र बैंकले अपजस पनि बेहोर्नु पर्दैन । राष्ट्र बैंकले बैंकलाई नियमन गर्दा बजार चलायो भन्ने दोष पनि आउँदैन । राष्ट्र बैंकले ल्याउने नीतिगत व्यवस्था पुँजीबजारलाई लक्षित गरेर ल्याउँछ जस्तो लाग्दैन । राष्ट्र बैंकले बैंकमा रहेका स–साना बचतकर्ताको बचत सुरक्षाको विषयलाई हेर्ने हो । बैंकले लगानी गरेको क्षेत्रमा जोखिम भयो भने डुब्ने त बैंकका साना बचतकर्ता नै हुन् । सेयरमा लगानी गर्दा त मानिसहरू जानेरै म जोखिम लिन्छु भनेर आएको हो, कसैलाई थाहा होला, कसैलाई नहोला, विश्वव्यापी रूपमै सेयर जोखिम भएकै बजार हो । तर, सर्वसाधारणले मेरो पैसा घरमा भन्दा बैंकमा सुरक्षा हुन्छ भनेर राखेको पैसा सुरक्षाका लागि नीति ल्याउँदा सेयर बजारमा ठूलो इस्यु बनाउनुपर्छ जस्तो मलाई लाग्दैन ।
मार्जिन ल्यान्डिङलाई विशुद्ध पुँजीबजारको प्रोडक्ट बनाउनुपर्छ । यसका लागि आवश्यक फन्ड बैंकबाटै ल्याउने हो । त्यो व्यवस्थामा जाने हो भने राष्ट्र बैंकको नीतिको असर ब्रोकरसम्म आउँछ, लगानीकर्ताहरूसम्म जाँदैन ।

बजारको क्षेत्र विस्तारसँगै ब्रोकरको सेवा भने विस्तार भएन, यसतर्फ ब्रोकरहरूले ध्यान दिएनन् भन्ने आरोप छ नि ?
कार्यक्षेत्र विस्तारमा नलाग्ने भन्ने कुरै होइन । हामीले ब्रोकर कमिसन मात्र हाम्रो आम्दानीको स्रोत हु्नुहुन्न भनेकै हो । कमिसनको पुनरावलोकन गर्दा पनि ब्रोकरले नयाँ–नयाँ प्रोडक्ट बेच्न पाउनुपर्छ भनेका हौं । तर, जनमानसमा भने कार्यक्षेत्र विस्तारमा ब्रोकरले चासो देखाएनन् भन्ने मात्र आउँछ ।
हामी कार्यक्षत्र विस्तार गरेर इन्भेस्टमेन्ट एड्भाइजर, पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन लेन्डिङ, स्टक डिलरजस्ता काम गर्न तयार र योग्य छौं । त्यसका लागि प्रविधि, पुँजी र मानव संसाधन व्यवस्था गर्न तयार छौं । आवश्यक सहजीकरण नियामक निकायले गर्नुपर्छ ।

तपाईंहरूलाई अविश्वास किन त ?
ब्रोकर कम्पनीको पुँजी जोखिममा आधारित हुनुपर्छ । यसका लागि क्यापिटल एडुकेसी फ्रेमवर्कमा जाऊ भनेका छौं । यसले गर्दा हाम्रो पुँजी जोखिममा आधारित हुन्छ, जुन कम्पनीले धेरै जोखिम लिन्छ, धेरै सेवा दिन्छ, उसले पुँजी पनि त्यसैका आधारमा बढाउँछ । तर कुनै काम गर्नका लागि पनि बाटो खुल्ला नभएपछि कम्पनीहरूले पुँजी नबढाएका हुन् । कम्पनीहरू फुच्चे भए भनेर मात्र भएन नि !

हाम्रो पुँजीबजार धेरै अघि बढिसक्यो, नियामक निकाय पछाडि परेका हुन् त ?
मैले अमेरिकाको पुँजीबजारको केस स्टडी पढ्दा त्यहाँका विश्लेषकहरूले बजार फरारीको गतिमा गइसक्यो, नियमक निकाय अझै साइकलको स्पिडमा चलिरहेको छ भनेका रैछन् । हामीकहाँ पनि सेवन, नेप्से, ब्रोकरले चाहेर-नचाहेर पनि लगानीकर्ताहरू फरारीको स्पिडमा गइसकेका छन् । हामी साइकलको स्पिडमा गएर भएन । अलि डाइनामिक हुनुप-यो । हाम्रा नीतिनियमहरू समय सान्दर्भिक बनाउन सक्नुप¥यो ।

ब्रोकर आफैंले टीएमएस सिस्टम ल्याउने विषयमा किन ढिलाइ भइरहेको छ ?
यसका लागि हामीले ५० वटै ब्रोकर मिलेर कम्पनी खोलेका छौं । त्यो कम्पनीको उद्देश्य भनेको विदेशबाट टीएमएस ल्याएर ५० वटा कम्पनीलाई सहजीकरण गर्ने हो । किनकि टीएमएस बनाउन हामीकहाँ एक्स्पर्टिज छैन । यसबाहेक यो कम्पनीमार्फत बजारमा अध्ययन–अनुसन्धान, बजारमा सचेतनाका काम गर्ने, ब्रोकरलाई चाहिने टेक्नोलोजीका लागि सहजीकरण गर्ने पनि उद्देश्य हो ।
त्यो कम्पनीले विदेशमा परीक्षण भइसकेको टीएमएस ल्याउनका लागि केही किस्ता पेमेन्ट पनि गरिसकेको छ । उक्त कम्पनीले हाम्रो स्थानीय भेन्डरसँग सम्झौता गरेर काम पनि अघि बढाएको छ । हाम्रो तर्फबाटको तयारी पूरा भइसक्यो, तर नेप्सेसँग एपीआइ पोलिसी नहुँदा पाँच महिनादेखि रोकिएका छौं । डेडलकको अवस्थामा छौं ।

बैंकलाई ब्रोकरको लाइसेन्स दिने विषयमा तपार्इंहरूको विरोध किन ?
कुनै पनि क्षेत्रमा नयाँ लाइसेन्स बाँड्ने हो भने त्यो आवश्यकता किन भनेर सन्तुलित रूपमा अध्ययन गर्न आवश्यक छ । अहिले ५० वटा ब्रोकर किन कम भए भनेर हामीले कारण खोजेका छैनौं, मात्र ब्रोकरले सेवासुविधा दिन सकेनन्, त्यही भएर थप ब्रोकर ल्याउनपर्छ भनिएको छ । ५० वटा ब्रोकरबाट दिने सेवासुविधा र बजारको विस्तार किन भएन, आज पनि कारण खोजिएको छैन । बजार विस्तार ब्रोकरको कारणले नभई नियामककै अनिच्छाका कारण रोकिएको छ । किनभने विगतमा प्रविधिका कारण पनि समस्या थियो, अहिले अनलाइन प्रणाली आएपछि ताप्लेजुङको फिदिमजस्तो ठाउँमा पनि ब्रोकरले कार्यालय स्थापना गर्दै छ ।
तर हामीले ब्रोकरको शाखाभन्दा पनि सब ब्रोकर वा एजेन्टको अवधारणमा जाऊँ भनेका छौं । नियामकले कानुनी व्यवस्था नभएको भने पनि यसका लागि कमिटी बनाएर कार्यविधिको मस्यौदा बने पनि छलफल भएर रोकिएको छ । ब्रोकर एजेन्टको कन्सेप्टमा जाने हो भने व्यक्ति झोला–झोला बोकेर गाउँगाउँ गएर सेयर कारोबारको सेवा दिन सक्छन् । तर, जिम्मेवार व्यक्तिबाट यी ब्रोकरले काम गर्न सक्दैनन्, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्छ मात्र भनिन्छ ।
बैंकलाई ब्रोकर लाइसेन्स दिने हो भने इन्साइडर ट्रेडिङ हुन्छ । उनीहरूले छुट्टै सहायक कम्पनी खोल्ने, कार्यालय खोल्ने भने पनि इन्साइडर कारोबार हुन्छ । बैंकहरूलाई कुन व्यक्तिसँग कति पैसा छ भने जानकारी हुने भएकाले सेयर किन्नका लागि उत्पेरणा दिने काम पनि हुन सक्छ । यदि इन्साइडर ट्रेडिङका विषयमा डेटा ब्याकअप बनाउने, कानुनी आधार बनाउने जस्ता विषयलाई सम्बोधन हुन सक्छ भने बैंकलाई लाइसेन्स दिए पनि हामीलाई समस्या छैन ।

सेयर कारोबारमा अनलाइन प्रणाली आए पनि अझै भुक्तानी ढिलाइ भएको गुनासो सुनिन्छ नि ?
यो समस्या प्रणालीले गर्दा हो । यसैका लागि हामीले टीएमएस ल्याउन खोजेका हौं । आजको दिनमा पनि चार वटा प्रणाली चलाउँछौं । एउटा ब्रोकरको अफिस प्रणाली, जसमा हाम्रो एकाउटिङ र लगानीकर्ताको तथ्यांक हुन्छ, अर्को नेप्सेको टीएमएस, अर्को सीडीएसको डीपी र क्लियरिङ एन्ड सेटलमेन्ट । यो चारवटा प्रणालीमा अन्तरआबद्धता छैन । एउटा लगानीकर्तालाई हामीले यी चार प्रणालीमा छुट्टाछुट्टै छिराउनुपर्छ । पैसा पठाउने नेप्सेको टीएमएसबाट, हिसाबकिताब ब्रोकरको अफिस प्रणालीमा छ । यी दुई प्रणालीमा अन्तरआबद्धता छैन । नेप्सेको प्रणालीमा फन्ड म्यानेजमेन्ट गर्न अप्ठ्यारो छ । एउटा लगानीकर्ताले दुई लाखको बेच्यो, डेढ लाखको किन्यो भने बाँकी ५० हजार लगानीकर्तालाई पठाउनै मिल्दैन । कि त दुई लाख नै पठाउनुप-यो, कि पठाउनै मिल्दैन । हामीलाई लगानीकर्ताको सबै कारोबार एकै ठाउँमा आउने र त्यसबाट पेमेन्ट प्रोसेस गर्न मिल्ने प्रणाली आवश्यक छ । त्यसका लागि एपीआई आवश्यक छ । सीडीएसले पनि एपीआई विकास गर्दै छ । नेप्सेको प्रणालीमा छ । यी सबै कार्यान्वयनमा आएपछि अहिलेका गुनासा ९९ प्रतिशत समाधान हुन्छ ।

बजारको विकासका लागि तपाईंहरूले उठाएका एजेन्डा ओझेलमा पर्नुको कारण के हो ?
विश्वसनीयताको कमी हो कि ? यी ब्रोकरभन्दा नयाँ ल्याएर उनीहरूलाई सेवासुविधा दिएर अघि बढाउने भन्ने सोच कताकता नियामकमा देखिएको छ । ब्रोकरहरूले सेवा दिएको २८ वर्ष भयो । मुद्दामामिला भएका कुनै–कुनै केसमा बाहेक सेयर बेचेको पैसा नपाएको गुनासो छैन । ब्रोकरहरूले आफ्नो पुँजीको क्षति बेहोरेर, कारबाही भोगेर भए पनि लगानीकर्तालाई भुक्तानी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्