सामुदायिक वनलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्न जरुरी

म्याग्दी-दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी वृद्धि गर्न म्याग्दीका सामुदायिक वनमा वैज्ञानिक ब्यवस्थापन आवश्यक देखिएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा दिगो वैज्ञानिक वन ब्यवस्थापन सुरु गरेका विभिन्न जिल्लामा गरिएको अवलोकनले म्याग्दीमा सो आवश्यक देखाएको हो ।
वैज्ञानिक वन ब्यवस्थापनसम्बन्धी अन्तरजिल्ला अध्ययन अवलोकन भ्रमणमा सहभागी राजनीतिक दलका प्रतिनिधि, पत्रकार, गैससका प्रतिनिधि र वन कर्मचारी तथा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको अवलोकनले म्याग्दीमा पनि दिगो वन ब्यवस्थापन सम्भव रहेको निष्कर्ष देखाएका हुुन् । वैज्ञानिक वन ब्यस्थापन सुरु गरेका कपिलवस्तुको नवदुर्गा सामुदायिक वन र हरियाली सामुदायिक वन, रुपन्देहीको रामनगर सामुदायिक वन, अर्घाखाँचीको रिपापार सामुदायिक वन र कैलालीको साझेदारी सामुदायिक वनको अध्ययन अवलोकनले म्याग्दीमा सम्भव देखिएको हो ।
वैज्ञानिक वन ब्यवस्थापन नेपालमा कपिलवस्तुबाट सुरु भई तराईको अन्य जिल्लामा पनि विस्तारसँगै पहाडी जिल्ला अर्घाखाँचीमा पनि प्रभावकारी देखिएको छ । प्रजाति र भूगोलअनुसार दिगो वन ब्यवस्थापनले रोजगारी, आर्थिक वृद्धि, आर्यआर्जनले राजस्वमा वृद्धि र समुदायको पूर्वाधार निर्माणमा सहयोग पुग्ने डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णहरि देवकोटाले बताए ।
म्याग्दीमा वैज्ञानिक ब्यवस्थापन सुरु गर्न सकेमा पुराना रुख काटेर आम्दानी लिन सकिने र नयाँ बिरुवाले समयमै हुर्कन पाउने, काठको उत्पादन बढ्ने, रोजगारी सिर्जना हुने भावी पुस्तालाई वनको महत्व बुझाउनका लागि अवलोकन भ्रमण आयोजना गरिएको डिभिजन वन कार्यालयका फरेस्टर भविराम किसानले बताए । काठ दाउराको सहज आपूर्ति, वनको अवस्थामा सुधार, अतिक्रमण र चोरी निकासी बन्द हुनुको साथै वन संरक्षणको लागि वैज्ञानिक वन ब्यवस्थापन म्याग्दीमा पनि सुरु गरिने किसानले बताए ।
गलेश्वर ठूलोसल्लेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुण्यबहादुर चोखालले भ्रमणले म्याग्दीमा पनि वैज्ञानिक वन ब्यवस्थापन सम्भव रहेको बताए । दिगो ब्यवस्थापन ठूला रुखको समयमै आम्दानी र साना बिरुवालाई समयमै हुर्कन दिनका लागि वैज्ञानिक ब्यवस्थापन आवश्यक रहेको बताउँदै ठूलोसल्लेरीमा सुरु गर्न लागेको चोखालले बताए । भूगोल र प्रजातिको उमेरअनुसार वनलाई विभिन्न ब्लकमा विभाजन गरी चक्रअनुसार रुख काट्ने र बिरुवा हुर्काउने गरिन्छ । परम्परागत रूपमा विकास भएको वनले समुदाय र राज्यलाई ठूलो फाइदा दिन नसकेको र वनमा लिनुपर्ने पनि गुमेको महसुुसले वैज्ञानिक वन ब्यवस्थापन नेपालमा सुरु भएको हो । अन्य देशबाट हुने काठ आयातलाई रोक्न र निर्यातलाई बढाउन वैज्ञानिक ब्यवस्थापनले सहयोग पुग्ने देखिन्छ ।
डडेल्धुरामा पहिलोपटक वैज्ञानिक वन व्यवस्थापन सुरु
हरिश चन्द
डडेल्धुरामा पहिलोपटक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ । जिल्लाको अमरगढी नगरपालिकामा रहेको राजपुर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको हो ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत राजपुर सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत रुख काटिएको छ । सल्ला प्रजातिको रुखमात्रै रहेको यस सामुदायिक वनलाई ६ भागमा विभाजन गरिएको छ । कुल २ सय ३६ हेक्टर क्षेत्रफल रहेको यस सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन गर्न १० वर्षीय कार्ययोजना बनाइएको छ । पहिलो चरणमा सामुदायिक वनको २५.७७ मध्ये २.७ पुनः उत्पादन कटानअन्तर्गत ७ हजार १ सय क्युफिट सल्लाको काठ काटिएको छ । नेपाल सरकारको नीति अनुरुप नै जिल्लामा पहिलोपटक वैज्ञानिक वन व्यवस्थापन कार्य सुरु गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख बोधराज सुवेदीले बताए ।
सामुदायिक वनमा सयांै वर्ष पुराना सल्लाको काठ कुहिएर खेर गइरहेको समयमा वैज्ञानिक वन व्यवस्थापनबाट सदुपयोग हुने डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख सुवेदीले बताए । वैज्ञानिक वन व्यवस्थापनबाट सामुदायिक वन उपभोक्ता समूहका साथै नेपाल सरकारको राजस्वमा समेत वृद्धि हुने भएकाले पनि प्रभावकारी हुनेमा आशंका नगर्नसमेत प्रमुख सुवेदीले आग्रह गरे । एकातर्फ नेपालमा बर्सेनि विदेशबाट करोडौं मूल्यको काठ आयात भइरहेको छ भने अर्कोतर्फ नेपालमा करोडौं क्युफिट काठ कुहिरहेकाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम देशकै लागि प्रभावकारी हुने समेत सुवेदीले बताए । जिल्लामा पहिलोपटक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएकाले निर्देशिका अनुसार कार्यान्वयन हुने कि नहुने भन्दै सरोकारवालाले भने आशंका गर्न थालेका छन् । वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना अनुसार काम हुन्छ कि हुँदैन भन्ने आशंका उब्जाइरहेको सामुदायिक वन उपभोक्ता महासंघ डडेल्धुराका सदस्य लवराज चटौतले बताए । रुख काटेर वातावरणीय प्रभावका कारण जंगली जनावर र पानीका मुहानलाई प्रभाव पार्न सक्नेमा समेत आशंका गरिएको छ ।