पर्यटन क्षेत्र तंग्रिने आशा «

पर्यटन क्षेत्र तंग्रिने आशा

सन्दर्भ : विश्व पर्यटन दिवस
सन् २०१९ को अन्त्यबाट थलिएको पर्यटन क्षेत्र अब भने केही तंग्रिने आशा पर्यटन व्यवसायीले गरेका छन् ।
पछिल्लो समय रोकिएको अनअराइभल भिसा खुल्नु, पूर्ण खोप लगाएका पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने र कोभिड–१९ विरुद्धको खोपको मात्रा बढेसँगै पर्यटन गतिविधि बढेर जाने उनीहरुको विश्वास छ ।
आज (सोमबार) ४२औं विश्व पर्यटन दिवस मनाइँदै छ र यस वर्षको नारा ‘टुरिजम फर इन्क्लुसिभ ग्रोथ’ रहेको छ । कोभिडपछि पर्यटन गतिविधि शिथिल बन्दा अर्थतन्त्र पनि शिथिल बनेको थियो । यसका कारण महिला, अपांगता भएका, जनजाति र पिछडिएका वर्ग सबैभन्दा बढी मारमा परेकाले पुनरुत्थानपछि अर्थतन्त्रमा सुधार भएर जीवनयापनमा सुधार आउने भएकोले यसकै आधारमा नारा तय गरिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । कोभिड–१९ले प्रकृतिसँगको निकटता बढाएको र पर्यटकले प्रकृतिको सामीप्य खोज्ने भएकाले गर्दा नेपालमा पर्यटनको आगमन वृद्धि हुनेमा जोशी आशावादी छन् । “नेपाल सुरक्षित छ, सुरक्षाको मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्छौं भन्ने सन्देश हाम्रो पर्यटन बजारमा प्रवाह गर्न सकेमा पर्यटन आगमनमा वृद्धि हुनेछ,” उनले भने ।
पछिल्लो समय पर्यटन क्षेत्र पुनरुत्थान हुने क्रममा रहेको भए पनि सरकारले ल्याएका नीति अक्षरशः पालना नहुँदा पर्यटन आगमनमा पर्याप्त सुधार हुन नसकेको होटल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । उनले भने, “सरकारले एक महिना फ्रि भिसा लागु गर्ने भनेको छ, त्यसको पालना गर्नुप-यो । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश–२०७८ पनि पूर्णरुपमा लागु हुनुप-यो ।”
सरकारले आगमनका लागि सुरक्षित र भन्झटिलो प्रक्रिया छोडेमा पर्यटन आगमनमा वृद्धि हुने पर्यटनका जानकारहरुको भनाइ छ । सरकारले पर्यटक ल्याउने वातावरण विकास गर्न सकेमात्र पर्यटक आउने भएकाले गर्दा पर्यटन गतिविधि चलायमान भएपछिमात्र पर्यटन यो क्षेत्रसँग जोडिएका ११ लाखको रोजगारी सुनिश्चत हुने सरोकारवाला बताउँछन् । नेपालमा प्रत्यक्ष-अप्रत्यक्ष ११ लाखले पर्यटन क्षेत्रबाट रोजगारी प्राप्त गरेको सरकारी तथ्यांक छ । केन्द्रीय तथ्यांक विभागको अनुसार पर्यटन क्षेत्र चौथो सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र हो । विश्व पर्यटन संगठनका अनुसार एकजना पर्यटक आगमन हुँदा ११ जनाले रोजगारी प्राप्त गर्छन् ।

क्रिकेटर शाहिदीसहित यतीको पर्वतीय उडान
पर्यटन दिवसको पूर्वसन्ध्यामा आइतबार यती एयरलाइन्सले पर्वतीय उडानको शुरुवात गरेको छ । दोश्रो लकडाउनपछि यती एयरलाइन्सले पर्वतीय उडानको शुरुवात विश्व चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको उडानसँगै शुरु गरेको हो ।
एभरेष्ट प्रिमियर लिग खेल्न आएका अफ्रिदीसहित ४४ जना यात्रु लिएर उडान भरेको यतीले अब प्रत्येक आइतबार उडान गर्ने तालिका बनाएको हो । हालका लागि आइतबारदेखि उडानको शुरूवात गरे पनि यात्रुको मागअनुसार उडान संख्या र तालिका परिवर्तन हुने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । हिमाल चढ्न नसक्ने र ट्रेकिङ जान नसक्नेका लागि पर्वतीय उडान आकर्षक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्