फालिएका दुधका प्याकेटबाट घरायसी सामान निर्माण «

फालिएका दुधका प्याकेटबाट घरायसी सामान निर्माण

काठमाडौं- तपाईहरु  आफ्नो घरबाट निस्कने फोहोर बाहिर फाल्नुहुन्छ । यदि त्यो फोहोरलाई यहाँले व्यवस्थापन गर्न सक्नुभयो भने फोहोर मोहोरमा परिणत हुन्छ । यहाँको वरपरको वातावरण पनि सफा हुने र घरमा नै बसीबसी आम्दानी गर्न सक्नुहुन्छ ।
काठमाडौं माकलबारीका रामहरि श्रेष्ठले फोहोरबाटै मोहोर कमाइरहेका छन् । उनी दूधको प्लास्टिक जम्मा गर्छन् । प्याकेटबाट नै विभिन्न ढकनी तथा अन्य सजावटका सामग्री बनाउँछन् । अनि ति सामान बेच्छन् र आम्दानी पनि गर्न थालेका छन् । उनी आफ्नो टोलका छिमेकीलाई पनि दूधको प्लास्टिक राखिदिन भन्छन् । आजभोलि उनले बनाएका दूधका प्याकेटका आकर्षक सामग्रीको माग बढी आउन थालेपछि विभिन्न होटेल तथा रेस्टुराँबाट पनि संकलन गरेर ल्याउँछन् । अनि ति प्याकेट धोएर सफा गर्छन् । साइज मिलाएर काट्छन् अनि प्लास्टिक तन्काएर विभिन्न टोकरी, चकटी, सामान राख्ने भाँडोलगायतका आकर्षक सामग्री बनाउँछन् ।
“हामी दूध किन्छौं, दूधको प्याकेट जथाभावी फालिदिन्छांै, तर मैले सबै प्याकेट जम्मा गर्छु, छिमेकी तथा विभिन्न होटेल रेस्टुराँबाट पनि संकलन गर्छु, विभिन्न सामान बनाउँछु र बेच्छु,” उनी भन्छन्, “पैसा पनि कमाइने, फोहोरको पनि व्यवस्थापन हुने ।”
उनलाई श्रीमती तुलसा श्रेष्ठले पनि सहयोग गर्छिन् । साँझ घरमा परिवार नै जम्मा हुन्छन् । छोराछोरीले पनि दूधको प्याकेटबाट अन्य सामान बनाउन सघाउ गर्छन् । “नयाँ सीप सिकेर अहिले हामीले फोहोरलाई मोहोरमा परिणत गर्न सफल भएका छांै, खुसी लाग्छ,” उनी भन्छिन्, “अझै उत्साहित भएकी छु, घरमा नै बसीबसी आम्दानी गर्न पाएका छांै ।”
उनीहरूको उदाहरणीय काम देखेर छिमेकी पनि दंग छन् । “हामीले गरेको यो कामबाट प्रभावित भएर अहिले अन्य छिमेकीले पनि यस्तै काम गर्ने चाहना राख्नुभएको छ, कति जनाले त सिकिसक्नुभयो, नकुहिने फोहोर व्यवस्थापन गर्ने उत्तम तरिका पनि हो यो,” श्रेष्ठ भन्छन् ।
उनले बागमती नदीलाई सफा बनाउन नदी आसपासमा बसोबास गर्ने सर्वसाधारणले फोहोर व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए । श्रेष्ठका अनुसार दूधको प्याकेटको सदुपयोग गरेर मोहोर कमाउनका लागि एसियाली विकास बैंकको आर्थिक सहयोग तथा आइडियस नेपालले सहयोग गरेको हो ।
एकीकृत विकास समाजअन्तर्गत फोहोरमैला व्यवस्थापन तथा सामाजिक परिचालनकी टिम लिडर प्रभा पोखरेलले उपत्यकाका नदी किनारा सफा गर्नका लागि घरभित्रको फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताइन् । “बागमती सफाइ अभियान सञ्चालन त भइरहेको छ, तर सर्वसाधारणमा जनचेतना अभिवृद्धि हुन सकेन भने कुनै अर्थ हुँदैन, यसकारण हामीले सर्वसाधारणलाई घरभित्रको फोहोरलाई मोहोरमा परिणत गर्न अभिप्रेरित गरेका हौं,” उनले भनिन् ।
माकलबारीका स्थानीयले पछिल्लो समय घरभित्रबाट निस्कने फोहोरको सदुपयोग गर्दै मल बनाउन थालेका छन् । कुहिने तथा नकुहिने फोहोरलाई छुट्याएर उनीहरूले प्रांगारिक मल बनाउन थालेका छन् । एकीकृत बागमती संरक्षण विकास समितिले नदी आसपासका सर्वसाधारणलाई बागमती नदीमा फोहोर नफाल्नका लागि जनचेतना अभिवृद्धिको काम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्