मोबाइल प्रविधिबाट खानेपानी वितरण «

मोबाइल प्रविधिबाट खानेपानी वितरण

दमौली-तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा मोबाइल प्रविधिमार्फत खानेपानी वितरण सुरु गरिएको छ । हालै सम्पन्न दरकाम खानेपानी योजनाको पानी मोबाइलको माध्यमबाट वितरण गरिने व्यवस्था मिलाइएको उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र थापाले जानकारी दिए ।
४० हजारमा खरिद गरिएको मोबाइल प्रविधिबाट घरमै बसेर खानेपानी अन/अफ गर्न सकिने अध्यक्ष थापाले बताए । समितिले मोबाइलको निर्देशनबाट पानीको धारा अन अफ गर्न सकिने सिम बक्स खानेपानीको ट्यांकीमा जडान गरेको छ । मोबाइल नम्बर हानेपछि प्राप्त हुने निर्देशनअनुसार नम्बर डायल गरेपछि ट्यांकीमा पानी चढ्ने प्रविधि जडान गरिएको अध्यक्ष थापाले बताए । “मोबाइल नम्बर हानेर प्राप्त निर्देशनअनुसार डायल गरेपछि २२ सेकेन्डमा ट्याकीमा पानी चढ्छ,” उनले भने, “बन्द गर्न पनि समय लाग्दैन । त्यो मोबाइल निश्चित एक व्यक्तिसँगमात्रै छ ।”
उनलाई समितिले मासिक २ सय रुपैयाँ दिने गरेको छ । उनका अनुसार मोबाइलको टावर भएको जुनसुकै स्थानबाट डायल गरेर पानी तान्न र बन्द गर्न सकिन्छ । उक्त खानेपानी योजना ३७ लाखको लागतमा सम्पन्न भएको हो । स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ २०७३ साल असारबाट उक्त खानेपानी योजना निर्माण सुरु भएको थियो ।
खानेपानी योजनाको लागि सांसद विकास कोषबाट १० लाख, नेपाल विद्युत् प्राधिकरणबाट १२ लाख, शुक्लागण्डकी नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन भएको थियो भने उपभोक्ताले २ लाख ५५ हजार बराबरको जनश्रमदान गरेको खानेपानी समितिले जनाएको छ । मुहानदेखि २ सय ९० मिटरमाथि लिफ्टिङ प्रणालीबाट ट्यांकीमा पानी संकलन गरिएको छ । खानेपानी योजनाबाट दुई सय घरधुरी परिवार लाभान्वित हुने अध्यक्ष थापाले बताए । योजना सम्पन्न भएपछि प्रत्येक घरमा पानीको मिटर जडान गरी पानीको वितरण सुरु गरिएको छ ।
खानेपानी योजना निर्माण सम्पन्न भएपछि पानीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय जयश्वर पाण्डेले बताए । “आयोजना नहुँदा घण्टौ हिँडेर पानी लिन जानुपर्ने बाध्यता थियो । अब उक्त समस्या हटेको छ,” उनले भने । उक्त खानेपानी योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य आशा कोइरालाले प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी सुविधा पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको बताइन् । उनले २ वर्षभित्र प्रदेशभित्रका सबै घरधुरीमा स्वच्छ खानेपानी सुविधा पु¥याइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्