हाम्रो पात्रोबाट पैसा पठाउन सकिने «

हाम्रो पात्रोबाट पैसा पठाउन सकिने

हाम्रोपात्रो एपले रेमिट्यान्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थपिएको हो ।
यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए ।
तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अरू मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए । कम्पनीले हाल बजारमा उपलब्ध रेमिट्यान्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ ।
रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत सार्वजनिक गरेको छ । जसअनुसार दसैँ–तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीनपटकसम्म निःशुल्क रूपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् ।
तत्कालका लागि रेमिट्यान्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट (तुरुन्तातुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्