हिमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक आउनुपर्ने «

हिमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक आउनुपर्ने

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ ।
शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरूको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरूको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो ।
संघले हेमोफिलिया भएका व्यक्तिहरू अपांगताको ऐनभित्र परेको र अपांगता भएकाहरूको सूचीको दसौं नम्बरमा उल्लेख गरिएको भन्दै गणकहरू आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन अनुरोध गरेको छ । त्यस्तै यसबारेमा गणकहरू पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ । महासंघका महासचिव दीपक न्यौपानेले बास्तविक तथ्यांक समेट्न तथा गणक र सुपरिवेक्षकहरूलाई आवश्यक तालिम उपलब्ध गराउन माग गरे ।
हिमोफिलिया अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुनगई रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनि सरकारले परिभाषा गरेको छ । हेमोफिलिया भएको व्यक्तिमा कुनैपनि कारणले आन्तरिक वा बाह्य रक्तस्राव भयो भने रगत नथामिने हुने, रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरूले बताउने गरेका छन् । विश्व हिमोफिलिया महासंघको तथ्यांक अनुसार प्रति ५ हजार पुरुष जन्ममा १ जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् । नेपालमा करिब ३ हजार हिमोफिलियायुक्त व्यक्ति रहेको अनुमान गरेको र हिमोफिलिया सोसाइटी नेपालमार्फत हालसम्म ७ सय ५० जना हिमोफिलियायुक्त व्यक्तिको पहिचान भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्