बीपी क्यान्सर अस्पताल : बिरामी घटेपनि आम्दानी बढ्यो «

बीपी क्यान्सर अस्पताल : बिरामी घटेपनि आम्दानी बढ्यो


बिरामीको चाप घटेपनि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आम्दानी बढाएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष १० करोड बढी आम्दानी गर्न सफल भएको हो । आर्थिक वर्ष २०७६/७७ मा २९ करोड २४ लाख आम्दानी भएकोमा गत वर्ष ३९ करोड ७४ करोड आम्दानी भएको थियो ।
अस्पताल स्थापनाको छैटौँ वर्षदेखि बिरामीको चाप बढेकोमा २१ वर्षपछि आएर बिरामीको संख्या ५५ हजारले घटेको छ । पछिल्लो वर्ष ९० हजार ५ सय ७१ जना बिरामीले बहिरंग सेवा लिएका छन् । जसमध्ये ४ हजार ६ सय ८ जना क्यान्सरका नयाँ बिरामी हुन् । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले कोभिड–१९ का कारण बिरामीको चाप घटेपनि अस्पतालको आम्दानी भएको बताए । “अत्याधुनिक सेवा थप भएकाले अस्पतालको आम्दानी बढेको हो”, उनी भन्छन्, “कोभिड वार्ड, रेडियसन विभागमा जडित अत्याधुनिक उपकरणका कारण आम्दानीमा वृद्धि भएको हो ।”
सन् २०२१ मा भर्ना हुने ७ हजार ३८ जना, शल्यक्रिया हुने २ हजार ७ सय ४२ जना, रेडियोथेरापी गर्ने १ हार ८ सय १९ जना, केमोथेरापी गर्ने ३ हजार १ सय ६६ जना, डेकेयर केमोथेरापी गर्ने १ हजार ९ सय ६१ जना छन् । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा केही घटेको छ । अस्पतालमा हालसम्म ५३ हजार ३ सय ८६ जनाको कोरोना परीक्षण गरेको छ । कोभिडका २ सय २७ जनाले उपचार पाएकोमा १ सय ९१ जना निको भएभने ३० जनाको मृत्यु भएको थियो । अस्पतालमा २०७७ जेठ ४ देखि स्वाब संकलन थालिएको थियो भने सोही वर्षको भदौमा कोरोना ल्याव सञ्चालनमा ल्याएको थियो ।
अस्पतालले इमर्जेन्सी सेवा तथा फार्मेसी सेवालाई व्यवस्थित गर्ने काम गरेको थियो । एचडीयु सेवा, माइक्रोस्कोपी सर्जरी र लेजर सर्जरी सुरु गरेको छ । विपन्न क्यान्सरका बिरामीलाई संघीय सरकार मार्फत १ लाख र बागमती प्रदेशका बिरामीलाई थप ५० हजार रुपैयाँ बराबरको छुट दिदै आएको छ । विपन्नका लागि १६ करोड बराबरको निःशुल्क सेवा दिएको छ । म्याक्स फाउण्डेसन मार्फत रक्त क्यान्सरका बिरामीलाई २० करोड १९ लाख, क्यान्सर सेवा मार्फत ५२ लाख बराबरको निःशुल्क दिएको छ ।
७० वर्षमाथिका बिरामीलाई १६ लाख ९६ हजार, १५ वर्ष मुनिकालाई १६ लाख ७४ हजार बराबरको निःशुल्क सेवा दिएको छ । अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माका अनुसार महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सो क्यान्सर र पुरुषहरुमा फोक्सो, पेटको क्यान्सर, जिब्रोका क्यान्सर धेरै हुने गरेको छ ।
अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेले पहिलो चरणमै उपचार गरिए रोग छिटो निको हुने बताउँछन् । “तेस्रो र चौथो स्टेजपुगेपछि मात्रै बिरामीहरु आउने गरेका छन्”, उनले भने, “बेलैमा रोग पहिचानका लागि स्क्रिनिङ हुनुपर्छ, कम्तिमा २ वर्षमा एक पटक क्यान्सर भए–नभएको स्क्रिनिङ जरुरी छ ।” उनले मानिसको गलत खानपान र जीवनशैली जस्ता कारणले ३० प्रतिशत क्यान्सर हुने गरेको बताए । अस्पतालले २२ औं वार्षिकोत्सव आज(आइतबार) मनाउँदैछ । अस्पतालको स्थापना भएको दिनको सम्झनामा नेपालमा वर्षेनी राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाउने गरिएको छ । १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा अस्पतालले विविध कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्