बिमा सम्बन्धी समस्या समाधान गर्न महासंघको पहल «

बिमा सम्बन्धी समस्या समाधान गर्न महासंघको पहल

नेपाल निर्माण व्यवसायी महासंघले आयोजना नवीकरण गर्दा आफूखसी बिमा शुल्कमा अत्यधिक बढाएपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोनालगायतका कारणले काम हुन नसकेको आयोजनाको म्याद सरकारले आगामी चैत मसान्तसम्मका थपेको थियो । तर, बिमा कम्पनीहरूले नवीकरण गर्दा तोकिएभन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफूखुशी पहिले जारी भएको बिमा शुल्कमा वृद्धि गरेको भन्दै महासंघले सरोकारवालासँग छलफल गरेको छ ।
महासंघका पदाधिकारी, बिमा समितिका पदाधिकारी र नेपाल बिमक संघका पदाधिकारीबीच भएको छलफलमा निर्माण सम्पन्न नभएका र सरकारबाट म्याद थप भएका आयोजनाको हकमा थप भएको समयावधिका लागि नेपाल बिमक संघ र महासंघबीच आपसमा समन्वय गरी एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बिमा गर्ने गराउने सहमति भएकाले सोही अनुसार गर्नु गराउन महासंघले अनुरोध गरेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बिमा, म्याद थप गर्दा गरिने बिमालगायतका समस्यामा सरोकारवाला सरकारी निकायसँग बिमा समितिले चाँडै नै अन्तरक्रिया गरी समस्या समाधान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्