‘कानुनी समस्याले माग अनुसार नेपाली वस्तु निर्यात गर्न सकिएन’ «

‘कानुनी समस्याले माग अनुसार नेपाली वस्तु निर्यात गर्न सकिएन’


अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको माध्यमवाट बढ्दो व्यापार घाटा न्यूनिकरण गर्न सरकारले ल्याएको नेपाल व्यापार एकीकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयबारे उद्योग संगठन मोरङले विज्ञहरुसँग छलफल गरेको छ ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमी कमजोरीहरुको सुधार गरी आगामी नीति तय गर्नुपर्ने बताए ।
उनले विश्व बजारमा मौलिक चिनारी बोकेका नेपाली वस्तुको माग भएपनि निर्यातमा देखिएको प्रकृयागत जटिलता, बढ्दो उत्पादन लागत तथा लजिष्टिक खर्च, ढुवानीको समस्याका साथै कुटनीतिक पहलको अभाव जस्ता कारणले आशातित रुपमा निर्यात हुन नसकेको बताए । अध्यक्ष पराजुलीले निर्यात प्रवद्र्धनमा देखिएका जटिलतालाई सम्बोधन गर्नेगरी आगामी रणनीति आउनु पर्ने धारणा राखे ।
कार्यक्रममा पूर्व अर्थ सचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले वैदेशिक व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै क्षेत्रलाई समावेश गरी ईकोसिस्टको विकास गर्नुपर्ने बताए ।
उनले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका आन्तरिक उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई बढावा दिन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनु पर्नेमा जोड दिए । पूर्व अर्थसचिव खनालले राज्यले उद्योग व्यवसायको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्न आवश्यक व्यवस्थासहितको व्यापार रणनीति तय गर्न कार्यक्रमका प्राप्त सुझावहरु महत्वपूर्ण रहेको बताए ।
नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्दिय सदस्य अविनाश बोहराले निर्यात व्यापारको महत्वपूर्ण पक्षका रुपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यर्होर्नुपर्ने, अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त ल्याब नहुनु जस्ता कारणले पनि निर्यात व्यापार अभिवृद्धि हुन नसकेको औंल्याउँदै निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्