मनोविज्ञान र उपभोगको प्रवृत्ति «

मनोविज्ञान र उपभोगको प्रवृत्ति

अर्थशास्त्रले मानिसहरूले गर्ने खर्चको प्रवृत्तिको अध्ययन गर्छ । मानिसहरू आफ्नो आम्दानीबाट दुई काम गर्छन्— पहिलो, तत्कालको आवश्यकता पूर्तिका लागि उपभोग र दोस्रो भोलिको आवश्यकता पूर्तिके लागि बचत । यस लेखमा उपभोग र आयको अन्तरसम्बन्धको सैद्धान्तिक अवधारणा र व्यावहारिक पक्षबारे चर्चा गरिन्छ ।
मानिसहरूको खर्च गर्ने प्रवृत्तिलाई केले प्रभावित पार्छ भनेर यकीन भन्न सकिन्न । कोही मानिस एकदमै धनी भएर पनि उपभोगमा खर्च गर्न चाहँदैन, सुन किन्छ, जग्गा किन्छ, बैंक बचत बढाउँछ, बन्ड धितोपत्रमा लगानी बढाउँछ । अर्काथरी मानिस सम्पत्ति थुपार्न चाहँदैनन्, आम्दानी भएअनुसार खर्च गरेर दैनिक जनजीवनलाई सहज र सुखी बनाउन चाहन्छन् । कोही आम्दानी नभए पनि ऋणधन गरेर उपभोग बढाउन चाहन्छन् ।
मानिसहरूको खर्च र उपभोगको प्रवृत्ति अर्थशास्त्रमा अति महŒवपूर्ण हुन्छ, तर सबै मानिसको उपभोग प्रवृत्तिलाई एउटा निश्चित सिद्धान्तमा बाँधेर अध्ययन गर्न सकिंदैन । अर्थशास्त्रीहरू कस्तो अवस्थामा मानिसहरू आम्दानीको कति अंश उपभोग गर्न चाहन्छन् भन्ने सूत्र पत्ता लगाउन चाहन्छन् । तर, अहिलेसम्म यो निश्चित हुन सकेको छैन । अहिलेसम्म उपभोग प्रवृत्तिका सम्बन्धमा विभिन्न सिद्धान्तहरू प्रतिपादन भएका छन् ।
ब्रिटिस अर्थशास्त्री जोन मेनार्ड किन्सले सन् १९३६ मा ‘रोजगार, ब्याजदर र मुद्राको सामान्य सिद्धान्त’ पुस्तक प्रकाशन गरे । उनले निरपेक्ष आय परिकल्पना सिद्धान्तको प्रतिपादन गरे । उनले मानिसहरूको उपभोगको औसत प्रवृत्ति (एभरेज प्रोपेन्सिटी टु कन्जुम, एपीसी) भन्दा उनीहरूको उपभोगको सीमान्त प्रवृत्ति (मार्जिनल प्रोपेन्सिटी टु कन्जुम, एमपीसी) कम हुने बताए । साथै, मानिसहरूको आम्दानी स्तर बढ्दा एपीसी र एमपीसी दुवै घट्ने बताए ।
मानिसहरूले कुल खर्चयोग्य आयमा कति कुल उपभोग गर्छन् भन्ने अनुपात एपीसी हो । त्यस्तै, मानिसहरूले अघिल्लो वर्षभन्दा यस वर्ष जति रुपैयाँ बढी आय गर्छन्, त्यो बढी आयबाट गर्ने उपभोगको अनुपात एमपीसी हो । किन्सका अनुसार, कुल खर्चयोग्य आयबाट हुने कुल उपभोगको अनुपातभन्दा पछिल्लो वर्षमा प्राप्त भएको थप आम्दानीबाट हुने थप उपभोगको अनुपात कम हुन्छ ।
मानौं, पोहोरको ५ लाखबाट कोही मानिसको आय यस पटक ६ लाख रुपैयाँ भयो भने उसले गर्ने कुल खर्च ४ लाख अर्थात ६६.६६ प्रतिशत हुन्छ । जबकि पोहोर ५ लाख आम्दानी हुँदा साढे ३ लाख अर्थात् ७० प्रतिशत खर्च गरेको थियो । अहिले थप भएको १ लाखमा ५० हजार मात्र अर्थात ५० प्रतिशत मात्र उपभोग गर्छ ।
किन्सको सिद्धान्त सामान्य रूपमा हेर्दा यथार्थपरक नै देखिन्छ । आम्दानी बढ्दै जाँदा मानिसको उपभोग बढे पनि आम्दानीको अनुपातमा बढ्दैन । उनीहरूको आधारभूत आवश्यकता पूरा भइसकेको हुन्छ, बचत बढाउनतर्फ लाग्छन् । तर यो सिद्धान्त सबैमा लागू नहुन सक्छ । मानौं कतिपय मानिसको आवश्यकता साइकल, मोटरसाइकल, कार हुँदै हेलिकप्टर वा नगरकोट, इलाम, बैंकक हुँदै नायग्रा फल्स हुन सक्छ ।
अमेरिकी अर्थशास्त्री कुजनेट्सले अमेरिकाको सन् १८६९ देखि १९३८ सम्मको समय श्रृंखला तथ्यांक विश्लेषण गरे । त्यसबाट उनले किन्सको सिद्धान्तभन्दा फरक नतिजा पाए । उनले मानिसहरूको औसत उपभोग प्रवृत्ति आयस्तरकै अनुपातमा बढेको पाए । औसतमा मानिसहरूले आफ्नो कुल खर्चयोग्य आयको ८.७ प्रतिशत उपभोग गर्ने गरेको पाइयो, अर्थात् ७ दशकको तथ्यांकमा एपीसी ०.८७ देखियो ।
किन्सको सिद्धान्तलाई परिमार्जन गर्ने क्रममा अमेरिकी अर्थशास्त्री जेम्स स्टेम्बल डिजेनबरीले सन् १९४९ मा ‘आय, बचत र उपभोगको सिद्धान्त’ शीर्षकमा पिएचडी शोधपत्र प्रकाशित गरे । उनले सापेक्षिक आय परिकल्पना सिद्धान्त प्रतिपादन गरे । उनका अनुसार, मानिसहरूको उपभोग उनीहरूको आयसँग मात्र निर्भर रहँदैन । उपभोगमा देखासिकीले ठूलो प्रभाव पार्छ भन्ने उनको मान्यता आयो ।
डिजेनबरीको सिद्धान्त पनि सही देखिन्छ । मानिसले आफ्नो आम्दानी कति बढेको छ भनेर हिसाब गरेर खर्च गर्ने होइन, छरछिमेकीले कति खर्च गरेका छन् भन्ने आधारमा आप्mनो खर्च तय गर्छ । गरिब मानिसहरू पनि आफूलाई धनी समान देखाउन चाहन्छन् । धनीले कम खर्च ग¥यो भने बल्ल गरिबले पनि खर्च घटाउँछन्, नत्र धनीको पछि पछि दौड्ने प्रवृत्ति हुन्छ ।
त्यसैगरी, मानिसहरूको मनोविज्ञानमा रेटचेट प्रभाव अर्थात् अघि बढेपछि पछि नफर्कने सोच हुन्छ । एक पटक आम्दानी बढेका बेला मानिसहरूले आरामदायी सुविधासम्पन्न जीवन बिताएको अनुभव गरिसकेको र समाजलाई देखाइसकेको छ भने आम्दानी घटे पनि ऊ पुरानो स्थितिमा फर्कन तयार हुँदैन । आम्दानी नै नभएपछि रवाफ त घटाउनै प¥यो, तर आम्दानी घटेको तुलनामा नभई थोरै मात्र उसको जीवनस्तर तल झार्न तयार हुन्छ ।
अर्का अमेरिकी अर्थशास्त्री मिल्टन फ्रेडमेनले सन् १९५७ मा ‘उपभोग फलनको एक सिद्धान्त’ शीर्षकमा पुस्तक प्रकाशन गरे । त्यस पुस्तकमा उनले स्थायी आय मनोविज्ञानको सिद्धान्त प्रतिपादन गरे । मानिसको उपभोग गर्ने प्रवृत्ति वर्तमान आयमा मात्र निर्भर गर्दैन । भविष्यमा हुन सक्ने आयलाई समेत हिसाब गरेर वर्तमानमा खर्च गर्ने सोच मानिसहरूमा हुन्छ ।
वर्तमानमा आय न्यून भएको व्यक्तिले भविष्यमा अंश वण्डाबाट सम्पत्ति पाउने रहेछ भने अहिले बढी उपभोग गर्न सक्छ । अर्कातर्फ भविष्यमा सम्पत्ति घट्नेवाला छ भने अहिले बढी आम्दानी भए पनि कम उपभोग गर्छ । आर्थिक वर्षको अन्तिममा बोनस पाउने निश्चित भएको कर्मचारीले तलब थोरै भए पनि खर्च बढी गर्न सक्छ । पेन्सन पाउने कर्मचारीले थोरै तलबमा पनि बढी खर्च गर्न सक्छ भने अस्थायी कर्मचारीले धेरै तलब भए पनि भविष्यको लागि बचतमा ध्यान दिन्छ ।
मानिसहरूको उपभोग आयस्तर मात्र होइन, उमेरअनुसार फरक हुन्छ । सन् १९५७ मै फ्रान्को मोदिगलिआनी र अल्बर्ट एन्डोले जीवनकाल आय परिकल्पनाको सिद्धान्त प्रतिपादन गरे । आम्दानी शून्य भएको मानिसले पनि उपभोग गर्नैपर्ने बाध्यतालाई उनको सिद्धान्तले समेटेको छ । मानिसको शिशुदेखि किशोरावस्थासम्म आम्दानी शून्य हुन्छ । किशोरावस्थादेखि वयस्क नहुँदासम्म न्यून आय हुन्छ । वयक्स उमेरमा कामको अनुभवसँगै आम्दानी बढ्दै जान्छ । उमेर ढल्केसँगै आम्दानी पनि घट्न थाल्छ । वृद्धावस्थामा पनि आम्दानी शून्य हुन जान्छ ।
मानिसको खर्च जीवनको सुरुमा थोरै, क्रमशः वृद्धि र अन्तिममा पुनः कम हुन्छ । आम्दानीको प्रवृत्ति पनि त्यस्तै त हुन्छ तर ठ्याक्कै समानुपातिक हुँदैन । सुरुमा आम्दानी शुन्य हुँदा ऋणबाट खर्च गर्छ, थोरै आम्दानी हुँदा पनि केही ऋणबाटै पूर्ति गर्छ, धेरै आम्दानी भएको बेला आम्दानीबाटै खर्च, बचत र पुरानो ऋण चुक्ता गर्छ । अवकाश जीवनकालमा पुरानो बचतबाट खर्च गर्छ ।
अन्त्यमा, मानिसहरूको स्वभाव, देश, भूगोल, परिस्थितिअनुसार खर्च गर्ने प्रवृत्ति औसतमा फरक हुन्छ । बढी आम्दानी गर्ने र कम आम्दानी गर्ने मानिसहरूबीचको खर्चको प्रवृत्ति फरक हुनु स्वाभाविकै हो । अझ समान आय हुने र एउटै परिवेशमा बस्ने व्यक्तिबीच पनि खर्चको प्रवृत्ति फरक हुन्छ । अर्थशास्त्रीले मानिसको उपभोग प्रवृत्तिलाई अझैसम्म एउटै सूत्रमा बाँध्न नसकेका कारण यसमा अध्ययन र विश्लेषणको क्रम अझै जारी रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्