खाद्यान्न, लत्ताकपडा र टिकट काउन्टरमा अनुगमन केन्द्रित «

खाद्यान्न, लत्ताकपडा र टिकट काउन्टरमा अनुगमन केन्द्रित


चाडपर्व नजिकिँदै गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्यान्न, लत्ताकपडा र सवारी साधनमा अनुगमन बढी केन्द्रित गरेको छ ।
चाडपर्वको बेला बजारमा बढी किनमेल हुने हुँदा व्यवसायीले अस्भाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै ती क्षेत्रमा अनुगमन केन्द्रित गरिएको हो । विभागले दैनिक ६ वटा टोली खटाएर बजार अनुगमनलाई तीव्रता दिएको छ ।
विभागका निर्देशक शिवराज सेढाइँले चाडपर्वमा हुन सक्ने कृत्रिम अभाव, मूल्य वृद्धि, मिसावट म्याद नाघेका सामान बिक्री नियन्त्रण गर्नका लागि अनुगमनलाई तीव्र बनाएको जानकारी दिए ।
चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खरिद बिक्री बढी हुने हुँदा यसमा व्यवसायीले उपभोक्ता ठग्ने गरेका छन् । विशेषगरी खाद्यान्न, लत्ताकपडा, सवारीसाधनको टिकट काउन्टरमा बढी भीडभाड भई उपभोक्ता ठगिन सक्ने भएकाले पनि ती ठाउँमा अनुगमन बढी केन्द्रित गरिएको सेढाइँले जानकारी दिए ।
विभाग, जिल्ला प्रशासन कार्यालय, नापतौल विभाग, खाद्य गुणस्तर विभागलगायतको टोलीले उपत्यकाका तीनै जिल्लाहरुमा संयुक्त अनुगमन सुरु गरेको हो । हालै भएको केन्द्रीय अनुगमन समितिको बैठकले बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । टोलीले चाडपर्वमा खपत हुने खाद्यान्न, माछामासु, लत्ताकपडालगायत सबै वस्तुको अनुगमन गर्न लागेको विभागको भनाइ छ ।
सरकारले हरेक वर्ष विभागको नियमित बजार अनुगमनसहित संयुक्त रुपमा बजार अनुगमन गर्दै आएको छ । चाडपर्वको बेला बजारमा व्यवसायीले कालोबजारी, मूल्यवृद्धि, कम गुणस्तरका खाद्यान्न लेबलिङ गर्ने गरेका छन् ।
चाडबाडका बेला बजारमा भिडभाड बढी भएको मौका छोपी व्यवसायीले म्याद नाघेका खाद्यान्नहरु बिक्री गर्छन् । विभागले नियमितसँगै चाडपर्वको बेला धेरै वटा टोली बनाएर ठाउँ ठाउँमा अनुगमन गर्ने गर्छ । उपभोक्ता ठगि गर्ने व्यवसायीलाई विभागले तत्काल ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्छ ।
अनुमगन गर्नका थप १२ जना कर्मचारी विभागमा पठाइएको छ । मन्त्रालयले पठाएको १२ जना र विभागको ८ जनाको ६ वटा टोली रहने विभागले जनाएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन गर्न निर्देशन दिएको विभागले जानकारी दिएको छ । स्थानीय निकायले नापतौल र गुणस्तरबारे हुने ठगिबाट बच्न गुणस्तर तथा नापतौल विभागले एक साताको सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । विभागले उपत्यकासँगै अन्य जिल्लामा केन्द्रबाट अनुगमन टोली खटाउने योजना बनाएको छ ।

चिनीको अभाव नहुने दावी
विभागले तीन महिनालाई पुग्ने चिनीको मौज्दात रहेकाले बजारमा अभाव नभएको बताएको छ । चिनीको आयात नियमित रुपमा भइरहेको र उद्योगी व्यवसायीहरुसँग तीन महिनालाई पुग्ने मौज्दात भएकाले अभाव नहुने दाबी विभागको छ । तर, बजारमा चाडपर्वको अगाडि चिनीको अभाव हुन थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्