पर्यटन क्षेत्र पुनर्जागरणको प्रयास «

पर्यटन क्षेत्र पुनर्जागरणको प्रयास

वैश्विक महामारीका रूपमा फैलिएको कोरोना संक्रमणले सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रभावित पारेको छ । नेपालमा पर्यटनको विकास गरी आर्थिक उन्नति गर्ने नारासहित ‘भिजिट–२०२०’ नारासहित सुरु गरेको अभियानको बीचमा नै कोरोना महामारीको संक्रमण फैलिएपछि बाह्य पर्यटकहरू आउन नपाउँदा पर्यटन क्षेत्रमा ठूलो नोक्सानी बेहोर्नुप¥यो ।
१९ महिना लामो कोभिड–१९ महामारीको संकटका बीचमा गरिएको लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाले आवागमन ठप्प हुँदा आन्तरिक पर्यटनसमेत ठप्प भयो । विस्तारै कोरोना संक्रमण कम हुँदै जाँदा र कोभिडविरुद्धको खोप अभियानका कारण अहिले कोरोना संक्रमणको जोखिम कम हँुदै गएर सबै क्षेत्र खुला भएको छ ।
सबै क्षेत्र खुला भए पनि सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्र, मनोरञ्जनका क्षेत्रहरू अझै सामान्य हुन सकिरहेका छैनन् । कोरोनाको संक्रमण रोकथाम, नियन्त्रणका लागि गरिएको नेपाल भारत सीमा नाका बन्दले वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायमा झन्डै एक अर्बभन्दा बढीको नोक्सानी भएको अनुमान व्यवसायीहरूले गरेका छन् ।
सबै क्षेत्र समान्य भएपछि भारतीय पक्षबाट सीमा खुला गरे पनि नेपालतर्फबाट भने भारतीय सवारी साधन आवत जावतमा लगाएको रोक कायमै थियो । नेपालको पर्यटन क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भारतीय पर्यटकमा निर्भर रहेको नेपालमा मुख्य नाका वीरगन्जमै भारतीय सवारी साधनमा लगाइएको रोकले होटल तथा पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको छ ।
त्यसैले सीमा नाकामा भारतीय सवारी साधनलाई पनि खुला गर्नुपर्ने पर्यटन क्षेत्रले माग गर्दै आएको थियो । मन्त्रिपरिषद्कै निर्णयबाट सीमा नाका बन्द भएकाले सीमा नाका खुला गर्न स्थानीय प्रशासनमा अधिकार थिएन । त्यसैले वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरू सीमा नाका खुला गराउन माग गर्दै प्रधामन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएपछि १९ महिनादेखि नै बन्द रहेको वीरगन्ज नाका मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खुला गर्ने निर्णय गरेको छ ।
यद्यपि मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालयमा पुग्न ढिलाइ हुँदा जिल्ला प्रशासन कार्यालयहरूमा यसको परिपत्र नपुगेपछि सीमा नाका खुल्न सकेको छैन । सीमा नाका बन्द हुँदा र भारतीय सवारी साधनमा लगाइएको रोकले वीरगन्जसहित नेपालको पर्यटन क्षेत्रमा परेको प्रभावहरूको विषयमा वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरूसँग कारोबारकर्मी नीरज पिठाकोटेले गरेको कुराकानीको सार ः

राज्यको प्राथमिकतामा परे पनि सुविधा शून्य छ
सुनिल खेतान
क्लाक रिसोर्ट होटल
कोरोना महामारीको बन्दले नोक्सान त सबै क्षेत्रमा भएको छ । तर, सबैभन्दा बढी नोक्सानी पर्यटन क्षेत्रमा भएको छ । क्रमशः भन्नुपर्दा पहिलो नम्बरमा पर्यटन क्षेत्रमा, त्यसपछि मनोरञ्जनको क्षेत्रमा नोक्सानी भएको छ । ट्रेकिङ, क्यासिनो, रेस्टुराँलगायतका क्षेत्रमा मार परेको छ । यी सबै एकआपसमा सम्बन्धित छन् । यी क्षेत्रहरू बढी प्रभावित छन् । त्यतिखेर भिजिट–२०२० को पनि अभियान आएको थियो । त्यसले गर्दा निकै चहलपहल भएको थियो । निकै उत्साह पनि थियो । त्यसबेला धेरै होटलहरू पनि खुलेका थिए । योजनामा रहेका होटलहरू पनि आए । कोरोनाकालमा पनि धेरै नयाँ होटल खुलेका थिए ।
सञ्चालनमा पनि ल्याए । कोरोना संक्रमणमा पर्यटन क्षेत्र निकै धराशायी बनेको छ । सरकारले राहतका प्याकेजहरू पनि ल्याएको छ । तर, पर्यटनलाई प्राथमिकतामा राखे पनि सुविधाको नाममा भने शून्य छ । उदाहरणका लागि विद्युत् महसुलकै कुरा गरौं, उद्योगका लागि लिइएको विद्युत् महसुलभन्दा होटल–व्यवसायका लागि लिइने विद्युत् महसुल बढी छ । व्यावसायिक होटलहरूलाई झन् बढी लिने गरेका छन् । स्तरीय होटलहरूको हकमा स्टार अनुमति लिनुपर्दा झन् बढी लिने गरेको छ । उद्योगसरहको सुविधा दिइएको छैन । जबकि नेपालमा विद्युत् धेरै उत्पादन भइरहेको छ । बाहिर निर्यात गर्ने बजार खोजिरहेका छौं ।
त्यही विद्युत् यहाँ महसुल घटाइदिएमा यहीं खपत धेरै उपयोग हुन्छ । यहींका नागरिकले सस्तोमा विद्युत् उपभोग गर्न पाउँछन् । त्यतातिर सरकारको ध्यान गएको छैन । थलिएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि सरकारले सहुलियत दिएमा मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ । म नकारात्मक कुरा त कहिल्यै गर्दिनँ । तर पनि सरकारले प्राथमिकतामा राखेको पर्यटन क्षेत्रलाई सुविधा पनि सहज रूपमा दिने वातावरण बनाइदिए पुनः पर्यटन क्षेत्र चलायमान हुन्छ । यसले देशको आर्थिक विकासमा पनि ठूलो योगदान दिन्छ । नेपालको आर्थिक विकासका महŒवपूर्ण आधारहरूमध्ये पर्यटन क्षेत्र पनि एक भएकाले यसलाई पुनरुत्थानका लागि राज्यको नीति र सहयोग अपरिहार्य छ ।

पर्यटन क्षेत्र पुनर्जीवित बनाउन चुनौती छ
हरि पन्त
अध्यक्ष, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज
कोरोनाका प्रभाव परेको क्षेत्र भनेको नै होटल तथा पर्यटन क्षेत्र हो । दुई–दुई पटकको कोरोना लहरमा वीरगन्जका होटल तथा पर्यटन क्षेत्रले मात्र झन्डै एक अर्ब गुमाएको अवस्था छ । सबै क्षेत्र खुले पनि लामो समयसम्म होटल तथा पर्यटन क्षेत्र बन्द नै रह्यो । त्यसमाथि सीमा नाका बन्द हुँदा र भारतीय सवारी साधनमा रोक लगाउँदा भारतीय पर्यटकहरू नआएर होटल तथा पर्यटन व्यवसायीहरू मारमा परेका छन् । सरकारले अब सीमा नाका खोल्ने निर्णय गरेको छ ।
एक–दुई दिनमा खुल्छ होला । नाका खुलेपछि चलायमान हुन्छ । यो डेढ वर्षमा गुमाएको आर्थिक व्ययभार त पाउन नसकिएला, तर पुनः सीमा नाका खुला भएपछि भारतीय पर्यटकहरू आउने र यसले केही राहत हुनुका साथै बिस्तारै पुनर्जीवन पाउन सक्ने सम्भावना चाहिँ छ । होटल तथा पर्यटन क्षेत्रमा कसरी नोक्सानी बेहोर्नुप¥यो भने । नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकहरूको ठूलो योगदान छ । अझ नेपालको प्रमुख प्रवेशद्वार नेपालको दक्षिणी सीमा नाका ७० देखि ८० प्रतिशत भारतीय पर्यटकमा निर्भर रहेको वीरगन्जले झन् धेरै घाटा सहनुपरेको छ ।
बिहारमा मदिरा प्रतिबन्ध लगाएकाले सीमाक्षेत्रको नेपालमा भारतीय नागरिकहरू शनिबार र आइतबार नेपाल आएर मनोरञ्जन गरेर फर्कने गरेका थिए । साताको दुई दिन शनिबार र आइतबार भारतीय पर्यटकहरूले वीरगन्जका होटलहरू भरिभराउ हुने गरेको थियो । सीमा नाकामा भारतीय गाडीमा रोक लगाएपछि वीरगन्जले यति ठूलो आर्थिक क्षति बेहोर्नुपरेको हो ।

सरकारको निर्णय व्यावहारिक कार्यान्वयन हुनुपर्छ
रचिन्द्रसिंह थापा
केन्द्रीय सदस्य, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज
विश्व महामारीको रूपमा फैलिएको कोरोना संक्रमणले प्रदेश–२ को वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरूलाई ठूलो मार परेको छ । वीरगन्जमा सञ्चालित होटलका ग्राहक नै भारतीय नागरिकहरू हुन् । कोरोना महामारीकै कारणले नेपाल–भारतको सीमा नाका बन्द हुँदा भारतीय ग्राहकहरू नेपालमा आउन नपाएको र यहाँका आन्तरिक ग्राहक तथा पर्यटकहरू पनि देशभर आवतजावत गर्न नपाउँदा होटल तथा पर्यटन व्यवसाय चौपट भएको छ ।
अब अहिले नेपाल सरकारले होटल व्यवसायीहरूको समस्या सम्बोधन गर्दै सीमा नाका खोल्ने निर्णय गरेको खबर छ । यसले वीरगन्जका होटल तथा पर्यटन व्यवसायमा सुधार आउने आशा छ । त्यसले गर्दा हामी अब होटलहरू सरसफाइ र कर्मचारीहरू भर्ना तयारीहरू सुरु गरेका छौं । लकडाउन खुले पनि एक वर्षभन्दा बढी नेपाल–भारत नाका बन्द रहेको छ । हाम्रो प्रमुख ग्राहक भनेको भारतीय पर्यटकहरू हुन् । हामीसँग अन्य देशका पर्यटकहरू आउँदैनन् । नेपालकै आन्तरिक पर्यटकहरू नारायणगढ, पोखरा, हेटौंडाबाट आउने हुन् । ती पनि कोरोनाको डरले त्यति धेरै आएका छैनन् ।
वीरगन्जमा आउने भारतीय पर्यटकहरू भनेको भारतका मेगासिटीहरूबाट नेपाल भ्रमणका लागि सवारी साधन लिएर नेपाल आउने गरेका छन् । भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाएको हुँदा ती पर्यटकहरू नेपाल आउन नपाउँदा होटल तथा पर्यटन क्षेत्रमा ठूलो आर्थिक संकट आएको छ । अब सीमा नाका खुला गर्ने सरकारले निर्णय गरेको छ । यसको व्यावहारिक कार्यान्वयनमा आयो भने बल्ल होटल तथा पर्यटन क्षेत्रले केही गति लिन सक्ला भन्ने अपेक्षा छ ।

तेस्रो मुलुक जाने भारतीय पर्यटक तान्न सहज वातावरण बनाउनुपर्छ
अनोज रुंगटा
संयोजक, पर्यटन तथा हवाई यातायात समिति
नाका बन्द भएर पर्यटनलाई धेरै फरक परेको छ । यसको कारण भनेको साधारण दिनचर्या काम गर्ने मान्छेको आवतजावत छ । तर, खासगरी नेपालमा आउने पर्यटकहरूलाई बन्द छ भन्ने सन्देश छ । भारतबाट सवारी साधन लिएर आउने पर्यटकहरू आउने बन्द नै छ । यसले मर्का परेको छ । यो त पर्यटकको कुरा भयो । अर्को व्यापार–व्यवसायका लागि आउने र उत्पादनको बजारीकरणका लागि आउने बजार प्रतिनिधिहरूलाई पनि सीमा नाका बन्द भएकाले नेपालमा के होला कसो होला भन्ने अन्योलता छ । सीमा नजिक भारतको मोतीहारी, बेतियालगायतका क्षेत्रबाट आउनेहरू त अलि–अलि आउँछन् ।
तर, जुन भारतका ठूला सहरहरू दिल्ली, कोलकाता, पटनालगायतका सहरहरूबाट आउने पर्यटक तथा उत्पादन पनि आउन सकेको छैन । नाका खुल्यो भने पहिलेको अवस्थामा आउन सक्ला । नाका खुला भयो भने नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सक्छ । कारण के हो भने तेस्रो मुलुक जाने भारतीय पर्यटकहरू धेरै छन् ।
कोरोनाका कारणले अहिले तेस्रो मुलुक जाने अवस्था छैन । उदाहरणका लागि भन्ने हो भने मलाई नै कसैले निःशुल्क सिंगापुर लान्छु भन्दा पनि मलाई जान मन छैन, जाँदिनँ । त्यसैले भारतबाट तेस्रो मुलुकमा जाने पर्यटकहरूका लागि नजिकको गन्तव्य भनेको नेपाल नै हो । दूरीका हिसाबले, भौगोलिक निकटताको दृष्टिकोणले, प्राकृतिक सौन्दर्यताले पनि नेपाल आकर्षक गन्तव्य बन्छ । त्यसैले तेस्रो मुलुकमा जाने पर्यटकहरूको गन्तव्य परिवर्तन गरेर नेपाल आउँछन् । त्यसका लागि नेपालमा वातावरणचाहिँ सहज बनाउनुपर्छ । राज्यले पनि सहज वातावरण बनाउने भूमिका खेल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्