Logo

आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।
विराटनगर महानगरपालिकाको कोसी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन वर्ष पुगेको छ । २०७७ साल चैत २ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए । त्यसयता आकाशे पुलको डिजाइन गरी ठेक्कासमेत लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन । पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाले बताउने गरेका छन् ।
महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि अर्थात् २०७७ माघ २८ गते मात्र महानगरले ढिला गरी ठेकेदारहरूको टेण्डर स्वीकृत गरेको थियो । नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने गरी योजना अघि बढाइएको छ । त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर–१२ को कला बिल्डर्सले पाएको छ भने कंचनबाडीचोकमा आरके बिल्र्डसले निर्माणको ठेक्का पाएको छ । महानगरले तीनवटै पुलका लागि दुई करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ । घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कलाबिल्र्डसले आवश्यक सामग्री र प्राविधिक भारतबाट झिकाई सके पनि बनाउने ठाउँको सुनिश्चितता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताएको छ । यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिएपनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सिर्जना भएको हो । कला बिल्र्डसले सो ठाँउमा भदौ १८ गते यता जग निर्माणको काम सुरु गरे पनि स्थानीयको विरोधका कारण निर्माणकार्य रोकिएको छ । पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादव बताउँछन् ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए । देखिएका विवादलाई समाधान गरेर चाँडै निर्माणलाई पूर्णता दिने उनको भनाइ छ ।
महानगरपालिकाले आकाशे पुलको अवधारणा ल्याए पनि सरोकारवाला पक्षसँग पर्याप्त छलफल नगरिएको र स्थानीयलाई विश्वासमा लिन नसकिएका कारण निर्माण सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्