सिजनको पहिलो आरोहण पूरा «

सिजनको पहिलो आरोहण पूरा


अटम सिजनमा मनास्लु हिमालको पहिलो आरोहण पूरा भएको छ । शनिबार स्वीडेनका नागरिक ब्रुनो म्याग्नस, मिग्मा दोर्ची शेर्पा (टोली नेता), डिकी ल्हामु शेर्पा र छिरिङ नामगेल शेर्पाको टोलीले जारी सिजनको आरोहण गरेको हो ।
बिहान १०.४८ बजे सो समूहले ६१६३ मिटरमा रहेको हिमालको आरोहण पूरा गरेको आरोहणको व्यवस्थापक पायनियर एडभेन्चरका व्यवस्थापनका अध्यक्ष पासाङ शेर्पाले बताए । उनले भने, “शनिबार बिहान ४ जनाको समूहले हिमालको आरोहण गरेको सन्देश प्राप्त भएको छ । जुन यस सिजनको पहिलो आरोहण हो ।”
शुक्रबार पाँच जना शेर्पाभन्दा बढी गाइडको समूहले हिमालको बाटो पहिल्याउँदै डोरी टाँगेर आरोहणको लागि बाटो तयार गरेका थिए । अध्यक्ष शेर्पाका अनुसार, सो समूहले शुक्रबार ५ बजेबाट हिमालको चुचुरोतर्फ पाइला अगाडि बढाएको र बिहान पूरा गरेको हो ।
मनास्लु हिमालको आरोहणको लागि यस सिजनमा १९ समूहका कुल १९१ जना आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । जसमा १५३ पुरुष र ३८ महिला छन् ।
यस सिजनका मनास्लु १ सय ९१ सहित मरियाङमा ८ जना, धौलागिरिमा ४० जना, कञ्चनजङ्घामा तीन जना, कुम्भकर्णमा पाँच जना र पुथा हिमचुलीमा तीन जना गरी जम्मा २ सय ५३ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । हिमाल आरोहणको राजस्व दस्तुरबापत विभागलाई २ करोड ५२ लाख लाख ९७ हजार ४ सय ८६ रुपैयाँ संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्