रेमिट्यान्स आय घट्दा तरलता संकुचन बढ्ने «

रेमिट्यान्स आय घट्दा तरलता संकुचन बढ्ने

विगत दुई आर्थिक वर्षदेखि कोरोनाको कारण घट्ने प्रक्षेपण गरिएको रेमिट्यान्स घट्न सुरु गरेको छ । यतिबेला वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढ्न थालेपछि रेमिट्यान्स घटेको हो ।

आर्थिक वर्ष २०७८÷०७९ को पहिलो महिनामै अर्थतन्त्रको मुख्य आधार मानिएको रेमिट्यान्स घट्दा यसले चालू आर्थिक वर्षको कति महिनासम्म घट्ने क्रम जारी राख्छ वा पहिलो महिनामात्रै घटेको हो, हेर्न आगामी महिना कुर्नुपर्ने देखिन्छ । तर, कोरोनाको महामारीमा पनि सकारात्मक रहेको रेमिट्यान्स आय २०७८ साउनमा भने १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोडमात्र नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो । कोरोना महामारीका कारण रेमिट्यान्स आयमा नकारात्मक असर पर्ने नेपाल राष्ट्र बैंकका साथै विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेका थिए । कोरोना संक्रमण फैलिएको आर्थिक वर्ष २०७६÷०७७ मा रेमिट्यान्स ०.५ प्रतिशतले घटे पनि त्यसपछिको आर्थिक वर्ष २०७७÷०७८ मा भने रेमिट्यान्स ९.८ प्रतिशतले वृद्धि भएको थियो । नेपाली कामदार फर्कने क्रम जारी रहँदा पनि नघटेको रेमिट्यान्समा दुई वर्षपछि नकारात्मक असर पर्न थाल्दा सरकारले यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।

अन्यथा चालू आर्थिक वर्षमा रेमिट्यान्स आयको कमीका कारण अन्य क्षेत्रमा पनि नकारात्मक असर पर्ने देखिन्छ । किनकि सरकारी खर्च एक साता बन्दा हुँदा बैंक तथा वित्तीय संस्थामा ऋणयोग्य तरलतामा संकुचन आइसकेको छ । रेमिट्यान्स आयमा कमी आउँदा बैंक तथा वित्तीय संस्थामा तत्काल तथा प्रत्यक्ष नकारात्मक असर पर्न सक्छ ।

हालको तरलता संकुचनमा केन्द्रीय बैंकले रिपो जारी गरेर सहजता गर्ने कोसिस गरे तापनि रेमिट्यान्स आय घटेर हुने तरलता संकुचनमा भने राष्ट्र बैंकको अल्पकालीन रिपोले पनि काम गर्न सक्दैन । हालको तरलता संकुचन चाडबाडका कारण अर्को एक महिना लम्बिने देखिन्छ भने रेमिट्यान्स आय लगातार घट्दा त्यसले चालू आर्थिक वर्षभर नै तरलता संकुचनको मारमा बैंक तथा वित्तीय संस्था पर्ने देखिन्छ, जसका कारण सरकारले उठाउने आन्तरिक ऋण उठाउन पनि समस्या पर्ने देखिन्छ । अन्त्यमा, यसले बजारमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न गई निजी क्षेत्रको लगानीमा पनि नकारात्मक असर पर्न सक्छ, जसका कारण आर्थिक वृद्धिमा पनि समस्या पर्ने देखिन्छ ।

तसर्थ, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले तुरुन्त यसमा अध्ययन गरी नकारात्मक असर न्यूनीकरण गर्ने योजना बनाउन आवश्यक छ ।चाडबाडका कारण आयातमा वृद्धिसँगै रेमिट्यान्स आय घट्न जाँदा त्यसले बजारमा मागमा कमी आउने पनि देखिन्छ । यसरी बजारको मागमा कमी आउँदा बिस्तारै चलायमान हुन थालेको अर्थतन्त्र फेरि संकुचनतर्फ जान सक्छ ।

चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स आयमा प्रभाव परेसँगै मुलुकको शोधनान्तर घाटामा गएको छ । आर्थिक वर्ष २०७८÷०७९ को साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा थियो । यसअघि २०७५ साउनमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोड घाटामा थियो । पछिल्ला दुई आर्थिक वर्षमा कोरोना महामारी र लकडाउनका कारण आयातमा कमी भए पनि रेमिट्यान्स आम्दानी नघटेकाले शोधनान्तर स्थिति बचतमा रहँदै आएको थियो । २०७७ पुसमा शोधनान्तर स्थिति हालसम्मकै उच्च १ खर्ब २४ अर्ब बचतमा पुगेको थियो । तर, त्यसपछि भने शोधनान्तर बचत घट्दै गत जेठमा १५ अर्ब घाटा भएको थियो भने असारमा पुनः सुधार भई १ अर्ब २२ करोड बचतमा पुगेको शोधनान्तर स्थिति चालू आवको पहिलो महिनामा पुनः घाटामा गएको हो ।

यस प्रकारले चालू आर्थिक वर्षको पहिलो महिनामै अर्थतन्त्रका सूचकहरू नकारात्मक देखिनु सरकारका लागि पनि शुभसूचक होइन । सरकारले यथाशीघ्र यसमा अध्ययन गराई अर्थतन्त्र चलायमान बनाउन गर्नुपर्ने गृहकार्य सुरु गरिहाल्नु नै मुलुकको हितमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्