इजरायलको रोजगारीका लागि श्रमिक छनोट «

इजरायलको रोजगारीका लागि श्रमिक छनोट





सरकारले इजरायलको रोजगारीका लागि लिएको अन्तर्वार्ताको अन्तिम नामावली तत्कालै सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने नेपाली युवाको शनिबार अन्तर्वार्ता सम्पन्न गरेर नेपालको तर्फबाट गर्ने छनोट प्रक्रियाको काम पूरा गरेको छ ।
अन्तर्वार्तामा सहभागी हुन मापदण्डमा परेका २ हजारमध्ये १ हजार ६०० जनाको नामावली इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा) मा पठाइन्छ । यसका लागि अन्तर्वार्ताबाट छनोट भएका युवाको नाम तत्कालै प्रकाशित गर्ने तयारी रहेको विभागका निर्देशक कमल ज्ञवालीले बताए ।
छनोटका लागि लिइएको लिखित तथा अन्तर्वार्तालाई निष्पक्ष, पारदर्शी र सुरक्षित बनाउन नेपालस्थित इजरायली दूतावासको प्रत्यक्ष सुपरिवेक्षण रहेको उनले बताए । “लिखित र अन्तर्वार्ता लगायतका छनोट परीक्षामा निष्पक्षता होस् भनेर हामीले लिखित तथा अन्तर्वार्ता परीक्षा मापदण्ड अनुसार सबै सिलबन्दी रुपमा गरेका छौं,” उनले भने ।
अन्तर्वार्तामा बस्ने एक समूहलाई अर्को समूहसँग सम्पर्क नराख्न सक्ने गरी व्यवस्थापन गरेको विभागले जनाएको छ । विगतमा भएका छनोट प्रक्रियामा विवाद आएपछि यस पटक विभागले छनोटको सम्पूर्ण काम कम्प्युटर प्रणालीबाट गरेको छ । भौतिक उपस्थितिमा नै एक हप्तासम्म सञ्चालन गरिएको अन्तर्वार्तामा १८६ जना उचाइ र तौल कम रहेका र अन्य ५१ जना अनुपस्थित रहेका जनाइएको छ । इजरायलले अन्तर्वार्तामा १ हजार ६०० को नामावली तयार गर्न अनुरोध गरेपछि विभाग सोही अनुसार नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । प्रकाशित नतिजालाई नेपालस्थित इजरायल दूतावासले अन्तिम छनोटका इजरायलस्थित पिवाको कार्यालय पठाउने भएको छ ।
पिवाले वैकल्पिक नामसहित ७ सय महिला र ३ सय पुरुषको छनोट चिठ्ठा मार्फत गर्ने भएकाले म्यारिटका आधारमा धेरै अंक प्राप्त गर्ने समेत अन्तिम छनोटमा नपर्ने सम्भावना रहेको निर्देशक ज्ञवालीले बताए । स्वास्थ्य परीक्षण लगायत अन्य प्रक्रियामा समेत छनोट भएका युवा असफल हुने भएकाले वैकल्पिक नाम समेत सार्वजनिक गर्न लागिएको हो । अन्तर्वार्तामा छनोट भएका लगभग ४ सय ८० युवा मध्ये तीन सय छानिने छन् भने १ हजार १२० महिलामध्ये ७ अन्तिम चरणका लागि छानिने देखिएको छ । अन्तर्वार्तामा छनोट भएकामध्ये वैकल्पिक सहित ४ सय २० महिला र १ सय ८० पुरुष महिला भने निर्धारित कोटाभित्र नपर्ने देखिएको छ ।
विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात हालको विनिमयदर अनुसार १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने जनाएको छ । एक पटक रोजगारीमा जाने नेपालीको करार अवधि १ वर्षको हुने भए पनि करार थपिएर ५ वर्षसम्म बस्न पाइने छ । यसका लागि जाने श्रमिकले हवाई भाडा, स्वास्थ्य बिमा, अभिमुखिकरण, पासपोर्ट, पिसिआरसहितको स्वास्थ्य परिक्षण, कल्याणकारी कोषसहित १ लाख ६५ हजार ७ सय शुल्क लाग्ने विभागले जनाएको छ । इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि जाने नेपालीको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
त्यस्तै उचाइ कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ । आवेदकको शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्