स्थिर विनिमयदर परिवर्तनका लागि तयारी थाल्न सुझाव «

स्थिर विनिमयदर परिवर्तनका लागि तयारी थाल्न सुझाव


नेपालले अवलम्बन गर्दै आएको भारतीय रुपैयाँ (भारु) सँगको स्थिर विनिमयदर प्रणाली परिवर्तनका लागि आवश्यक तयारी थाल्न सरकारलाई एक अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । विदेशी विनिमय दर निर्धारण प्रणालीका सम्बन्धमा राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययन प्रतिवेदनले पन्ध्रौं योजनामा उल्लेख भएअअनुसार पुँजी खाता क्रमशः परिवत्र्यता बनाउँदै लैजानका लागि विद्यमान विनिमय दर प्रणालीमा विकल्पको खोजी र तयारी थाल्नुपर्ने औंल्याएको हो ।
प्रतिवेदनमा आर्थिक उदारीकरणको स्थितिलाई यथावत् राख्ने हो र विद्यमान आर्थिक विशेषताहरुलाई आधार मान्ने हो भने हाल रहेको स्थिर विनिमय दर प्रणाली नेपालको लागि उपयुक्त रहेको र रेमिट्यान्स नेपा लको विद्यमान विनिमय दर प्रणाली जोगाउन मद्दत पु-याएको उल्लेख छ । पन्ध्रौं योजना अनुसार विनिमय दर निर्धारण प्रणालीलाई पुनरावलोकन गर्ने हो भने तीन चरणमा ४ विकल्पमा काम गर्न पनि सुझाव दिइएको छ । जसमा पहिलो चरणमा स्थिर विनिमय दर प्रणालीलाई यथावत् राख्दै आवश्यक पर्ने ऐन कानुनहरुको संशोधन तथा निर्माण गर्न भनिएको छ । यसका लागि राजनीतिक सहमति जुटाउनुपर्ने भएकाले यो कार्य सम्पन्न गर्न दुई वर्ष तोक्न सुझाइएको छ ।
दोस्रो चरणमा पुँजी खातालाई क्रमशः खुकुलो बनाउँदै विद्यमान विनिमय दर प्रणालीको संक्रमणकालीन विकल्पको रुपमा मुद्रा डालो, क्रवलिङ पेग र विनिमय दर करिडोर जस्ता ३ विकल्पमध्ये एउटा चयन गरी लागु गर्न भनिएको छ । यस्तै, तेस्रो चरणमा विद्यमान विनिमय दर प्रणालीको अन्त्य गरी परिवर्तनशील विनिमय दर प्रणाली लागु गर्नुपर्ने तथा दोस्रो चरणमा तयारी गरेको लक्षित मुद्रास्फीति प्रणाली मौद्रिक अंकुशको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालले वि.सं. २०१७ देखि नै भारुसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गर्दै आएको छ । २०४९ सालमा नेपाली रुपैयाँको अमेरिकी डलरसँग विनिमय दर भारतीय मुद्रा बजारमा कायम रहेको भारुको अमेरिकी डलरसँगको मिड रेटलाई नेरु र भारुबीचको खरिद विनिमय दरले गुणन गरी निर्धारण गरिने पद्धति अवलम्बन गरिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको अन्य मुद्राहरुसँग कायम रहेका छड्के दरलाई आधार मानी नेरुको अन्य मुद्राहरुसँगको विनिमय दर निर्धारण गर्ने पद्वति २०४९ देखि अवलम्बन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्