म्याग्दीमा पर्यटकको चहलपहल सुरू «

म्याग्दीमा पर्यटकको चहलपहल सुरू

म्याग्दीका पर्यटकीयस्थल धौलागिरि हिमाल, घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, मालिकाधुरी, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ ।
कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीय स्थल खुलाइएको हो । सिङ्गा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार आरक्ष, गुर्जालगायतका स्थलमा भ्रमण खुलाउन सम्वद्ध पालिका र प्रशासन कार्यालयमा अनुमति दिएको छ ।
धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौं अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहणका लागि आरोहीहरुको चहलपहल बढेको छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा हिमाल आरोहणका लागि ओरोहीहरु पुग्ने क्रम बढेको छ । यो सिजनमा आरोहणका लागि आरोही, पथ प्रर्दशक, भरिया र आरोहण दलका सहयोगी गरी करिब ७० जना आधार शिविरमा पुगिसकेका छन् ।
सेभेन समिट ट्रेक्सबाट मात्रै आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ । पाइनर एडभेन्चर र हिमालयन गाइडमार्फत समेत आरोहणका लागि पर्वतारोहीहरु आधार शिविरमा पुगिसेका छन् । सबैभन्दा धेरै आरोहीहरुको आरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाइँका अनुसार यो सिजनको आरोहणको लागि अधिकांश आरोही आधार शिविरमा पुगिसेका छन् । केही पर्वतारोहीहरु मुस्ताङको मार्फा हुँदै पदयात्रा गरेर समेत आधार शिविर पुग्ने गरेका छन् ।
नेपाली महिलाहरुको तर्फबाट धौलागिरिको पहिलो आरोहणको तयारीमा रहेकी कारोबारकर्मी पूर्णिमा श्रेष्ठले अधिकांश टोली आधार शिविर पुगिसकेको बताइन् । धौलागिरिमा नेपाली महिलाहरुको पहिलो आरोहणको कीर्तिमानका लागि श्रेष्ठसहित पासाङल्यामु शेर्पा र मायाँ शेर्पा यो सिजनमा धौलागिरि आरोहणको तयारीका लागि आधारशिविर पुगेको छ ।
यसैबीच सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दाअग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा स्पेनका ८२ वर्षिय पर्वतारोही कार्लोस सोरियासमेत धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीको टोल सुधार समितिका संयोजक विरेन गर्बुजाले आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल र पर्यटकलाई भ्रमणका लागि खुला गरिएको बताए । प्राकृतिक उपचार स्थलका रूपमा परिचित बेनी नगरपालिका–४ सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले स्नानका लागि असोज १ गतदेखि खुला गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्