कांग्रेस–फोरम लोकतान्त्रिक एकीकरण आज «

कांग्रेस–फोरम लोकतान्त्रिक एकीकरण आज

नेपाली कांग्रेस र विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकताको घोषणा आज विहान ११ बजे हुने भएको छ । प्रधानमन्त्रीका वरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारले आइतबार हुने तय भएको एकता घोषणा अन्तिम समयमा आएर हुन नसकेपछि सोमबार हुने बताए । 

“नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज हुने भनिएको एकता घोषणा प्राविधिक कारणले भोली विहान ११ बजे हुने छ,”आइतबार बेलुकी परियारले भने ।

प्रधानमन्त्री कार्यालयले आइतबार बेलुकी साढे ५ बजे दुई दलबीच एकता हुने भन्दै सञ्चारकर्मीलाई कार्यक्रमको निम्तो पठाएको थियो । पार्टी एकता हुने खबर पाएपछि कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य र कार्यकर्ताहरुको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनभर भिड लागेको  थियो । 

गच्छदार ०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन हुनु केही दिनअघि मात्र कांग्रेस छोडेर तत्कालिन मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र त्यसलगत्तै पार्टी एकता गर्ने घोषणा भएपछि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको गृहकार्य सुरु भएको थियो ।

०४८ देखि २०५६ सालसम्म गच्छदार कांग्रेसका सांसद थिए । कांग्रेस विभाजन भई  शेरबहादुर देउवा नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन हुँदा गच्छदारले पनि साथ दिएका थिए । गच्छार कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री र उपसभापति भएका थिए ।

विघटीत संसदमा १८ सांसद रहेको फोरम लोकतान्त्रिकबाट देउवा नेतृत्वको सरकारमा गच्छदार स्वयं उपप्रधानमन्त्री सहित अन्य ६ जना मन्त्री सहभागि छन् । स्रोतका अनुसार गच्छदारलाई मनोनित गर्न बाँकी उपसभापति वा महामन्त्रीमध्ये एक पद दिने तयारी छ । 

कांग्रेसमा रहँदा बलियो हैसियतमा रहेका गच्छदार फर्किएपछि मधेसमा कांग्रेसको अवस्था थप मजबुत हुने कांग्रेस नेताहरुको दाबी छ । आइतबारनै  प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले अखण्ड नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री  कुमार खड्कालाई पार्टी प्रवेश गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्