अनअराइभल भिसा खुला «

अनअराइभल भिसा खुला

सरकारले कोभिड–१९ का कारण रोकिएको विदेशी नागरिकको अनअराइभल भिसा खुला गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश–२०७८’ स्वीकृत गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार भिसा खुला गरेको जनाएको हो ।
यो निर्णयसँगै पर्यटकलाई नेपाल आगमन सहज हुने अपेक्षा गरिएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका पर्यटकले क्वारेन्टाइन बस्नुपर्ने छैन । तर यसरी नेपाल आउने यात्रुले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ भएको तथा होटल बुक गरेको हुनु पर्नेछ । नेपालमा आगमन भएपछि कोभिड परीक्षणको रिपोर्टसमेत नेगेटिभ भएका पर्यटकले निर्वाध रुपमा गन्तव्यमा जान पाउने मन्त्रालयले जनाएको छ । रिपोर्ट पोजेटिभ आएको खण्डमा सरकारले तोकेको समयसम्म आइसोलेसनमा बस्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्