एनआरएनए अध्यक्षमा थापाकोे उम्मेदवारी घोषणा «

एनआरएनए अध्यक्षमा थापाकोे उम्मेदवारी घोषणा

थापाका मुख्य एजेन्डा

  • गैरआवासीय नागरिकता
  • श्रमिक अधिकार
  • लगानी
  • दोहोरो कर
  • युवा तथा महिला सशक्तीकरण
  • साना तथा मझौला व्यवसायको प्रवद्र्धन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अमेरिकामा बस्दै आएकी रवीना थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेकी थापाले एनआरएनएभित्र महिला नेतृत्वको आवश्यकता महसुस गरेर उम्मेदवारी दिएको बताइन् ।
एनआरएनएलाई अब फरक तरिकाले अघि बढाउनु पर्ने बेला आएकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाइ छ । उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् । थापा एनआरएनएमा अध्यक्षमा उम्मेदवारी दिने दोस्रो महिला हुन् । उनले आफ्नो उम्मेदवारीको घोषणा गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् । गैरआवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तिकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको उनले बताइन् । यसैगरी उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताइन् । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकारको निर्णय गरेको र त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने उनको भनाइ थियो । उनीसहित उनको समूहमा रहेका अधिकारी र गुरुङले समेत वैदेशिक रोजगारीमा जानेका लागि उनीहरुको हित र भूतपूर्व गोर्खा सैनिकको अधिकारमा काम गर्ने प्रतिबद्धता जनाउँदै उम्मेदवारी दिएको बताएका छन् ।
थापा समूहले विदेशमा थोरै आम्दानी भएका नेपालीको पुँजीलाई संकलन गरेर समूह र साना क्षेत्रमा लगानी गर्ने योजना रहेको बताएको छ । विदेशमा रहेका एनआरएनले सिकेको सिप र ज्ञान उनीहरुले ल्याएको पुँजीभन्दा ठूलो भएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्