वर्ष दिनसम्म मर्मत हुन सकेन धनगढी–डडेल्धुरा सडक

धनगढी-वर्षाको पहिरोले भासिएको धनगढी–डडेल्धुरा राजमार्ग एक वर्षदेखि मर्मत भएको छैन ।
गतवर्ष साउनमा सो राजमार्गको गोदावरीदेखि फल्टुडेसम्म विभिन्न ठाउँमा भासिएको थियो । एक वर्ष बिते पनि सो सडक मर्मत नहुँदा जोखिम बढेको छ । विभिन्न ठाउँमा गरी एक सय मिटरभन्दा बढी सडक भासिएको, भत्किएको र सडकको पर्खाल भत्किएको छ ।
डडेल्धुराका भीमबहादुर साउद सामान ढुवानी गर्न धनगढी–डडेल्धुरा यात्रा गरिरहँदा सवारी दुर्घटनामा पर्ने त्रास हुने गरेको बताए । उनले बाध्यताले मालबाहक सडक कुदाउँदा सडक भासिएर दुर्घटना हुने जोखिम बढिरहेको बताए । सडक समयमै मर्मत नहुँदा उनलाई यात्रा गर्न कठिन हुने गरेको बताए । उनले राजमार्गका तीनभन्दा बढी ठाउँमा एकतर्फी आवागमन बनाइएको बताए ।
२०७७ साउनमा भएको भारी वर्षाका कारण सो राजमार्गको गोदावरीदेखि तीन किलोमिटर दूरीमा रहेको सो सडकको ५० मिटर भाग एकतर्फबाट भासिएपछि एउटा मात्रै एकतर्फी सडक मर्मत गरी चलाइएको छ । सडकको भत्किएका स्थानमा यसवर्ष वर्षाले थप जोखिम निम्त्याएको छ । “अहिले गतवर्ष क्षति पु-याएका ठाउँसँंगै अन्य स्थानमा पनि सडक भासिएका छन्,” साउदले भने, “सडक भासिएको ठाउँमा माटो पुरेर आवागमन सुचारु गरिएको छ ।”
सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार कैलालीको गोदावरी नगरपालिका–४ र चुरे गाउँपालिका–३ का विभिन्न स्थानमा रहेका सडकमा भारी वर्षाले क्षति पु¥याएको छ । कार्यालयले वैकल्पिक रूपमा सडकको आवागमनमा सहज बनाए पनि दुर्घटनाको जोखिम भने कायम रहेको चुरे गाउँपालिका–३ का वडाध्यक्ष टेकबहादुर शाहले बताए । उनले सडकको मर्मत कार्य हुन नसकेपछि अहिले एक सवारी जान सक्ने गरी माटो भरेर सडक सञ्चालनमा ल्याइएको बताए । उनले सो सडक खण्डका ठाउँ–ठाउँमा चिरा परेको, खाल्डाखुल्डी भएको भए पनि मर्मतका लागि ध्यान नदिएको गुनासो गरे ।
वडाध्यक्ष शाहका अनुसार प्रदेशका पहाडी क्षेत्रमा पूर्वाधार विकासका काम भइरहेको हुनाले मालबाहक सवारीको चाप पनि बढी छ । २०४९ सालमा निर्माण गरिएको सो राजमार्गमा मालबाहक ट्रकको संख्या पनि बढेकाले बिगे्रको सडक अझै जीर्ण बन्दै गएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीलाई पहाडी सात जिल्ला जोड्ने मुख्य राजमार्ग मर्मत नहुँदा आवागमन कठिन भएको छ । अहिले पहाडी जिल्लामा जात्रा सुरुवात भएको र दसैं–तिहार नजिकिएकाले सडकमा चाप पनि बढेको छ । चाडपर्व मनाउनका लागि भारतमा रोजगारीमा रहेका नेपालीहरू घर फर्किने क्रम पनि बढेको छ । उनीहरू पनि सोही सडक भएर यात्रा गरिरहेका छन् । रोजगारीका लागि प्रदेशका तराई जिल्ला तथा काठमाडौंमा अध्यापनसँंगै रोजगारीमा रहेका यस प्रदेशका मानिस पनि पर्वमा घर फर्कने गर्छन् । सडक मर्मत नहुँदा सबै यात्रु जोखिममा परेका छन् ।
ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेशका प्रमुख वामदेव गौतमले भासिएको सडक मर्मत नभएको कारण हालसम्म दुर्घटना नभए पनि जोखिम बढिरहेको बताए । “चाडबाडमा बढी सवारी साधन आवत–जावत गर्ने भएकाले सडक भासिएकाले दुर्घटनाको उच्च जोखिम छ ।” उनले भने, “ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रमा ट्राफिक चिन्ह राख्ने, क्षमताभन्दा बढी यात्रु बोक्न नदिने, ट्राफिक सचेतना कार्यक्रम अघि बढाउने तयारी गरिरहेको छ ।”
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले भासिएको र पहिरोले क्षति पु¥याएको सडक छिट्टै मर्मत गरिने बताए । उनले गोदावरीदेखि फल्टुडेसम्मको सडक मर्मतका लागि झण्डै पाँच करोड बराबरको बजेट विनियोजन गरिएको बताए । “टेण्डर आह्वान गरिएको छ,” उनले भने, “दसंैपछि सम्झौता भएर तिहारपछि मर्मतको कार्य अघि बढ्छ ।”
उनले गोदावरीदेखि तीन किलोमिटर माथि भासिएको सडक मर्मतका लागि डेढ करोड रकम विनियोजन गरिएको बताए । “कार्यालयले गत वर्ष नै सो राजमार्ग मर्मतका लागि बजेट माग गरेको थियो,” उनले भने, “संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि मर्मत कार्य अघि बढाउने तयारी भएको छ ।”