पार्टीको १४औं महाधिवेशन समयमै हुनेमा अन्योलता : गगन थापा «

पार्टीको १४औं महाधिवेशन समयमै हुनेमा अन्योलता : गगन थापा

Photo: Naresh Shrestha/ THT

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औं महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताए ।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४ औं महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताए । बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए । मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरुले पूरा नगरी जवाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरे ।
उनले भने, ‘महाधिवेशन बारेको जुन अन्योल छ, यो अन्योल थप बढ्दै गएको छ । महाधिवेशनको १३ जिल्ला जुन बाँकी छ, १३ जिल्लाको सदस्यताका कुराहरु टुंग्याउने कुरा तत्काल आजभोली गरिएन र यो तिथिमिति सार्दै जाने, जति सारे पनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ ।
मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरा ढुक्क भएर भन्न सक्ने अवस्थामा म छैन । महाधिवेशनको तिथिमिति सार्ने कुरा अब पार्टीको नेताहरुले आउन दिनुहुन्न । त्यो अप्ठ्यारो आउन दिनुहुन्न भन्ने लागिरहेको थियो तर जुन हल्का ढंगले महाधिवेशनको बारेमा एउटाले सारौँ भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाए पनि, तन्काइ दिए पनि भयो । कसैले जवाफ दिनु नपर्ने, बैठकपनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पुरा गर्न नसकेपछि जवाफ दिनु नपर्ने ? जवाफदेहीता बिनाको राजनीति पार्टीभित्र भएपछि यस्तो अवस्था भएको हो । अहिले यसलाई अन्त्य गरिएन भने यो अनन्त कालसम्म यसरी जानसक्छ । यसले हाम्रो अधिवेशनलाई थप अनिश्चित बनाएको छ ।’
नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए । संसदप्रति ओलीको घृणा सिंगो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए । उनले भने, ‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उनलाई संसद देख्नै हुन्न । उनले आफ्नो कार्यकालभरी संसदलाई हेपे । संसदलाई वेवास्ता गरे । पटक–पटक भंग गरे । अहिले संसद पुर्नस्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उनले पंगु बताएका छन् । अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’
नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरुले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे । एमालेको अवरोधले सांसदहरुले संसद्मा आफ्नो भूमिका समेत निर्वाह गर्न नपाएको बताए । एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्