इन्टरनेटको दुष्प्रभाव «

इन्टरनेटको दुष्प्रभाव

आज इन्टरनेट प्रविधिका कारण सूचना तथा सञ्चार प्रविधिमा निकै विकास भएको छ । सन् २००५ मा विश्वमा इन्टरनेट घनत्व १६.८ प्रतिशत हुँदा विकसित मुलुकमा ५२.८ प्रतिशत, विकासोन्मुख मुलुकमा १८.१ प्रतिशत र अतिकम विकसित मुलुकहरूमा १.४ प्रतिशत छ । सन् २०२० मा विश्वमा इन्टरनेट घनत्व ५३.६ प्रतिशत पुग्दा विकसित मुलुकहरूमा ८६.६ प्रतिशत, विकासोन्मुख मुलुकहरूमा ४७ प्रतिशत र अतिकम विकसित मुलुकहरूमा १९.१ प्रतिशत मात्र छ ।
हाल इन्टरनेटको धेरै विकास भए पनि यसको पहुँचमा लिङ्गीय विभेद छ । किनकि सन् २०१८ मा विश्वव्यापी रूपमा इन्टरनेट उपयोगमा महिलाहरूको पहुँच १२ प्रतिशतभन्दा कम थियो, जुन पुरुषहरूले उपभोग गर्नेभन्दा निकै नै कम मानिन्छ ।
सन् २०१९ मा विश्वको कुल जनसंख्यामध्ये ४.२५ अर्ब सहरमा र ३.५० अर्ब ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले इङ्गित गरेको छ । जबकि थ्रीजीको प्रयोग सहरी क्षेत्रमा ८९ प्रतिशत पुग्दा ग्रामीण क्षेत्रमा २९ प्रतिशत मात्र पुग्यो ।
सन् २००५ मा १.११ अर्ब व्यक्तिले इन्टरनेट प्रयोग गर्ने गरेकोमा सन् २०२० मा उक्त संख्या ४ अर्ब १३ करोड पुग्यो, जसमा विकसित मुलुकमा ३.०२ अर्ब, विकासोन्मुख मुलुकहरूमा १.११ अर्ब र अतिकम विकसित मुलुकहरूमा १९.०८ करोडले मात्र प्रयोग गरेका थिए ।
एक अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार सन् २०२० सम्ममा ६६.४ प्रतिशत व्यक्ति इन्टरनेटको पहुँचबाट टाढा रहेको देखिन्छ; जसमा अफ्रिकामा ७८ प्रतिशत, अरब क्षेत्रमा ४८.३ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ४७ प्रतिशत, कमनवेल्थ इन्डिपेन्डेन्ट क्षेत्रमा २४.१ प्रतिशत, युरोपमा १८ प्रतिशत र दक्षिण अमेरिकामा २९.१ प्रतिशत मानिस इन्टरनेट सेवाबाट वञ्चित रहेको देखिन्छ ।
वर्तमान समयमा क्लाउड आफैंमा बिग डाटा मानिन्छ । तर, यसको व्यवस्थापन, सञ्चालन, टिकाउपन र एक्सल्पोजन आफैं चिन्ताको विषय बनेको छ ।
क्लाउडका विज्ञहरूको भनाइअनुसार यो फुकुसीको आणविक भट्टीसरह विस्फोटकीय रहेको छ । यसले डाटा सेक्युरिटी, क्लाउड सेक्युरिटी र साइबर सेक्युरिटी गर्न निकै चुनौतीपूर्ण भएको छ ।
यसैगरी भ्वाइस सेक्युरिटी, क्रेडिट कार्डबाट भुक्तानी, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पासवर्ड संरक्षण, फेसबुकबाट हुन सक्ने स्क्यान्डल आदि चुनौतीपूर्ण बन्दै गएको छ ।
यथार्थमा कुनै पनि एप्लिकेसनको नाजायज प्रयोग रोक्न कठिन भएको छ । यसैले विगतमा सामाजिक सन्जालका कारण रसियाको चुनाव प्रभावित भएको कुरा सर्वविदितै छ ।
इन्टरनेटको स्पिडमा विश्वका सबै देशमा समानता छैन । विशेषतः विकासोन्मुख तथा अतिकम विकसित देशहरूमा उक्त स्पिड सन्तोषप्रद छैन । यसैले यी देशहरूमा उपभोक्तहरूले इन्टरनेटबाट आजसम्म पनि ठोस फाइदा लिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्