कानुनहीन राज्यको भविष्य ‘एम्बुस’मा विलीन «

कानुनहीन राज्यको भविष्य ‘एम्बुस’मा विलीन

कुनै पनि मुलुकले आफ्नो भविष्यका लागि बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सुरक्षामा सबैभन्दा बढी खर्च गर्छ । विकसित मुलुकमा त बालअधिकार हनन गर्दा अभिभावकलाई कानुनी कारबाही पनि हुन्छ । तर, नेपाल संसारको यस्तो मुलुक हो, जहाँ कानुन असहाय तथा गरिब तथा कमजोरलाई मात्र लाग्छ । कानुन पालना गराउने संस्थादेखि पालना गर्ने संस्था वा व्यक्तिसम्म पनि नेपालमा कानुनी राज्य छ र त्यसका कारण आफ्नो जीउ, ज्यान, धन सम्पत्तिको सुरक्षा हुन्छ भन्ने विश्वास गर्दैन ।
गर्ने वातावरण नै छैन, किनकि मुलुकमा जहिले पनि राजनीतिक दादागिरी नै चलिरह्यो । अघिल्ला व्यवस्थाले नागरिकको सुरक्षा तथा सम्मान गर्न नसकेका कारण हजारौंको बलिदान गरेर ल्याएको संघीय गणतन्त्रले पनि नागरिकको रक्षा गर्ने काममा कुनै चासो नदेखाएको तथा राजनीतिक दल आफैं लडेर नागरिकको जिन्दगी तथा भविष्य बन्धक बनाएका छन् । तीन तहको सरकार छ, तर नागरिकका जीवनको सुरक्षा छैन । आफ्नो उत्तरदायित्व पूरा नगरेबापत कुनै सजाय छैन, त्यसैले नागरिकको जीवनसँग खेलबाड गर्नु सामान्य मानिएको छ । राजनीतिक दलका नेतालाई भाषणबाजी गर्दागर्दै फुर्सद छैन भने कार्यकर्तालाई ताली बजाउने र गाली गर्नेबाहेक फुर्सद छैन ।
मुलुकको राजधानीमा मंगलबार साँझ फुटेको ढलमा एउटा बालक गायब भयो । त्यो एउटा बालक मात्र थिएन, त्यो बालक नेपालको भविष्य थियो । तर, हेर्दाहेर्दै नेपालको भविष्य ढलमा विलीन भयो । राजनीतिक दलका नेताहरू बुधबार तथा बिहीबार संसद्देखि सडकसम्म सिँगौरी खेले, उनका लागि पद र पैसा नै सर्वस्व होला, किनकि मुलुकको भविष्य ढलमा हराउँदा कुनै राजनीतिक दलका नेता बोलेनन्, कार्यकर्तालाई फुर्सद भएन । सायद चुनाव आएको भए नेताहरू भाषण गर्न पुग्थे होलान ।
तर, संघीय राजधानीमा भएको एउटा क्रूर घटनामा कसैको बोली निस्केन, किनकि त्यो बालकले नेताहरूका व्यक्तिगत महŒवाकांक्षा पूरा गर्न सक्दैनथ्यो, त्यसैले उसको जीवनको मोल नै भएन । तर, नेपालको भविष्य कस्ता राजनीतिक दल र कस्ता नेताको हातमा छ भन्ने यो एउटा अति पीडादायक उदाहरण हो । राज्य नै सडकमा ‘एम्बुस’ थापेर मान्छे मार्छ, तर पनि कोही बोल्दैन । काठमाडौंको कपन मिलनचोकको यो घटना मुलुकको स्थानीय निकायको बेकम्मापनको पनि पीडादायक उदाहरण हो र मुलुकमा कानुनहीनताको पनि । बितेका एक महिनामा संघीय राजधानीमा नै यस्ता करिब चार–पाँच दुर्घटना भइसकेका छन् । तर, स्थानीय निकाय, निर्वाचित जनप्रतिनिधि तथा सडक मर्मत तथा सम्भार गर्ने निकायमाथि कानुनी कारबाही गर्ने आँट कसैको पनि छैन । त्यसैले यस्ता दुर्घटना दोहोरिरहेका छन् र नेपालको भविष्य यसैगरी ढलमा विलीन भइरहेको छ ।
विकास निर्माणका काममा न्यूनतम सुरक्षा अपनाउनुपर्ने तथा त्यसको अनुगमन गर्नुपर्ने निकायहरू सबै चुपचाप छन् । नगरपालिका तथा महानगरपालिका पनि नागरिकको सुरक्षा आफ्नो दायित्व ठान्दैन । संघीय राजधानीका चाबहिल, कपन, गौशाला, सुन्धारा, रत्नपार्क, नख्खु, जावलाखेल, भैँसेपाटी, बल्खु, नयाँ बसपार्क, नयाँ बानेश्वर, कोटेश्वर, तीनकुने, सिनामंगल, कलंकी, नारायणथान, चुच्चेपाटीजस्ता सबैभन्दा बढी मानिस आवतजावत गर्ने स्थानहरूमा सधैं ढल, पाइप वा सडक मर्मत चलिरहन्छ ।
तर, सरकारी निकायका लागि यस्ता समस्याले पिरोल्दैन अनि ठाउँठाउँमा एम्बुस थापेर राज्य नागरिकको ज्यान लिन्छ । विकासका लम्बेतान भाषण दिने नेतालाई नागरिक मर्दा चिन्ता छैन, बरु त्यो सडकको कमिसन आयो कि आएन, त्यसमा चिन्ता छ । विकास निर्माणको नाममा एम्बुस थापेर नागरिकको हत्या गर्ने तथा ज्यानै जानेबाहेकका दुर्घटनामा पारेर पनि कोही जिम्मेवार नहुने मुलुक संसारमा नेपाल मात्र होला । नागरिक आफैं जागरुक भएर कानुनी उपचार नखोजेसम्म राज्यले यसैगरी हत्या गरिरहनेछ र नागरिक सधै सिकार भइरहनेछ । विकासका नाममा कमिसनबाहेक केही नदेख्ने नेता तथा त्यही नेताले भरणपोषण गरेका कार्यकर्ता भइन्जेल नेपालको भविष्य यसैगरी ढलमा विलीन भइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्