मंसिरसम्ममा पनि मन्त्रिपरिषद् पूर्ण हुँदैन : ओली «

मंसिरसम्ममा पनि मन्त्रिपरिषद् पूर्ण हुँदैन : ओली


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरे ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’
अध्यक्ष ओलीले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दावी समेत गरे । एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए विचराहरुको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाउनु परेको उनको भनाई थियो । अध्यक्ष ओलीले आफूले बनाइदिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिए ।
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए । अध्यक्ष ओलीले आगामी मंसीर भित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दावी समेत गरे । उनले सत्ताको दुरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी संगठन, विद्यार्थी संगठन, युवा संगठनहरुको कार्यालय कब्जा गर्ने प्रयास भईरहेको भन्दै आपत्ति समेत जनाए ।
अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बालेको पनि स्पष्ट पारे । आफूले मदन भण्डारीलाई मरणोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भएपनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उनको आपत्ति छ । अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई पदाधिकारी पार्टीको रुपमा चित्रण गरे । फुटेपछि माधव नेपाल नेतृत्वको पार्टी एकीकृत भएको अध्यक्ष ओलीको व्यंग्य थियो । उनले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदुतहरुलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्