अर्थतन्त्रका सूचक नकारात्मक «

अर्थतन्त्रका सूचक नकारात्मक


चालू आर्थिक वर्षको पहिलो महिनामै अर्थतन्त्रका सूचकहरू नकारात्मक देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले देशको आर्थिक स्थिति बिग्रन थालेको संकेत गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनामै अर्थतन्त्रको मुख्य आधार मानिएको रेमिट्यान्स घटेको छ । कोभिड—१९ को महामारीमा पनि सकारात्मक रहेको रेमिट्यान्स २०७८ साउनमा भने १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोडमात्र रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।
कोभिड महामारीका कारण रेमिट्यान्स आप्रवाहमा नकारात्मक असर पर्ने राष्ट्र बैंकका साथै विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेको थिए । आव २०७६/०७७ मा रेमिट्यान्स ०.५ प्रतिशतले घटे पनि आव २०७७/०७८ मा भने ९.८ प्रतिशतले वृद्धि भएको थियो ।
रेमिट्यान्स आयमा प्रभाव परेसँगै देशको शोधानान्तर भने घाटामा भएको छ । आव २०७८/०७९ को साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा थियो ।
कोभिड—१९ को महामारी र लकडाउनका कारण आयातमा कमी भए पनि रेमिट्यान्स आम्दानी नघटेकाले दुई वर्षयता देशको शोधानान्तर स्थिति बचतमा रहँदै आएको थियो । २०७७ पुसमा देशको शोधानान्तर स्थिति हालसम्मकै उच्च एक खर्ब २४ अर्ब बचतमा पुगेको थियो । त्यसपछि भने शोधानान्तर बचत घट्दै गत जेठमा १५ अर्ब घाटा भएको थियो । असारमा पुनः सुधार भई एक अर्ब २२ करोड बचतमा पुगेको शोधानान्तर स्थिति पुनः घाटामा गएको हो ।
कोभिड महामारीसँगै आयात वृद्धि भएकाले व्यापार घाटा पनि चुलिएको छ । आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भई एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा व्यापार घाटा घाटा २२.२ प्रतिशतले घटेको थियो ।
साउनमा ११५.९ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड रुपैयाँ बराबरको निर्यात हुँदा आयात ७५.७ प्रतिशतले वृद्धि भई एक खर्ब ५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो ।
रेमिट्यान्सको गिरावट र आयात बढ्नुको प्रभाव विदेशी विनियम सञ्चितिमा परेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३.२ प्रतिशतले कमी आई २०७८ साउन मसान्तमा १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुनलगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सूर्ति, हवाईजहाजका पार्टपुर्जा, तयारी पोसाकलगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी लामो समयदेखि न्यून रहँदै आएको मूल्यवृद्धि पनि बढ्न थालेको छ । राष्ट्र बैंकका अनुसार २०७८ साउन महिनामा उपभोक्ता मुद्रास्फिति ४.३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ३.४९ प्रतिशत रहेको थियो । २०७७ साउनको तुलनामा २०७८ साउनमा घ्यू तथा तेलको मूल्यवृद्धि २९.०७ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको १०.५१ प्रतिशत, सूर्तिजन्यको १०.१२ र यातायात उपसमूहको मूल्यवृद्धि १०.४३ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्