सरकारलाई खर्च गर्ने बाटो खुल्यो «

सरकारलाई खर्च गर्ने बाटो खुल्यो


राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेसँगै सरकारलाई बजेट खर्च गर्ने ढोका खुलेको छ । अब भने सरकारले सञ्चित कोषबाट बजेट खर्च गर्न पाउने भएको छ । संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले बिहीबार विनियोजन विधेयक प्रमाणीकरण गरेपछि बजेट कार्यान्वयनको बाटो खुलेको हो ।
विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले बजेट खर्च गर्ने ढोका खुलेको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । “राष्ट्रपतिबाट प्रमाणीकरण भयो, अब राजपत्रमा प्रकाशन हुन्छ र त्यसपछि खर्च गर्न सकिन्छ,” उनले भने ।
भदौ ३० गतेदेखि मुलुक आठ दिनसम्म बजेट रिक्तताको अवस्थामा थियो । सो समयमा सरकारले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, सर्वोच्च अदालतका प्रधानन्याधिसहरू, संवैधानिक निकायका प्रमुख, प्रदेशप्रमुखलगायत आठ शीर्षकबाहेकमा बजेट खर्च हुन सकेको थिएन ।
गत सोमबार प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको विनियोजन विधेयक मंगलबार राष्ट्रियसभामा पेस गरिएको थियो । खर्च कटौतीका लागि ४८ घण्टाको समय दिइएको विधेयकमा बिहीबार बसेको राष्ट्रिय सभाको बैंठकले दफावार छलफल गरी प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभावाट बिहीबार नै विधेयक पास गरी सभामुखले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । राष्ट्रपति कार्यालयबाट बिहीबार नै विनियोजन प्रमाणीकरण भएसँगै बजेट रिक्तताको अवस्थाबाट देश मुक्त भएको हो ।
विनियोजन विधेयक राष्ट्रपति कार्यालयबाट पास भए पनि आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ विहीबार मात्रै प्रतिनिधिसभाबाट पास भएका छन् । यी दुई विधेयक राष्ट्रिय सभाको शुक्रबार बस्ने बैठकमा पेस हुनेछन् । यी दुई अध्यादेश पास भइ नसके पनि खर्च गर्ने बाटो भने खुलेको आचार्य बताउँछन् । “हामीलाई विनियोजन विधेयक प्रमाणीकरण नहुँदा समस्या परेको हो,” उनी भन्छन्, “जुन राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकले अहिले नै अप्ठ्यारो पर्ने अवस्था छैन ।”
उनका अनुसार आर्थिक ऐन राजस्व उठाउने विषयसँग सम्बन्धित हुन्छ । तर, अहिले सरकारले सामयिक कर असुल ऐन अनुसार कर उठाइरहेकाले त्यसले खासै फरक नपार्ने उनको तर्क छ । राष्ट्र ऋण उठाउने विधेयक पनि अहिले नै ऋण उठाउनु पर्ने आवश्यकता भएकाले १÷२ दिन ढिला पास हुँदैमा कुनै असर नपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्