मेलम्ची खानेपानी आयोजनाको भुक्तानी दिन माग «

मेलम्ची खानेपानी आयोजनाको भुक्तानी दिन माग

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अवरुद्ध भई भुक्तानीसमेत रोकिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
सम्झौताअनुसार समयमा काम गरेपछि त्यसको भुक्तानी दिनु आयोजनाको दायित्व भए पनि आयोजना निर्माणका क्रममा नेपाली सहायक निर्माण व्यवसायी, आपूर्तिकर्ता र कामदारहरूले मुख्य ठेकेदार कम्पनी सीएमसीबाट अर्बाैं रुपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी रहेको पनि महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले आइतबार जारी विज्ञप्तिमा विदेशी कम्पनीले नेपालीको भुक्तानी नदिँदा स्वदेशी निर्माण व्यवसायीलाई ठूलो मार जनाएका छन् । त्यस्तै निर्माण सामग्री सप्लायर्स, मजदुर तथा स्थानीय व्यापारीले लिएको बंैकको ऋण हर्जाना र साहुको ऋण तिर्न नसकी घरबार लिलामीमा समेत जाने अवस्था सिर्जना भएको महासंघको भनाइ छ ।
सरकारले अभिभावकको भूमिका निर्वाह गरी सम्बन्धित सीएसमी कम्पनी वा अन्य स्रोतबाट भुक्तानीको प्रत्याभूति गराउन महासंघले विज्ञप्तिमार्फत माग गरेको छ । नेपाली निर्माण कम्पनीलाई बेवास्ता गर्दै विदेशी निर्माण कम्पनीबाट सञ्चालित ठूला निर्माण आयोजना बीचमा नै अलपत्र परेको सन्दर्भमा यसबाट पाठ सिक्दै भविष्यमा यस्ता ठूला आयोजनाको कार्य गराउँदा स्वदेशी निर्माण व्यवसायीलाई संलग्न गराउन महासंघले आग्रह गरेको छ ।
यसैबीच सरकारले मेलाम्चीको मुख्य ठेकदार कम्पनी सीएमसीसँगको सम्झौता औपचारिक रूपमा तोडेको छ । १४ दिने सूचना दिँदा पनि मुख्य ठेकेदार कम्पनी सीएमसीले कुनै चासो नदेखाएपछि सरकारले ठेक्का तोडेको हो ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले १४ दिनभित्र उपस्थित हुन दिएको म्याद सकिएसँगै मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसीसँगको सम्झौता आधिकारिक रूपमा रद्द भएको मन्त्रालयले जनाएको छ ।
टेन्डरको निमयअनुसार दिइएको समय सीमाभित्र निर्माण कम्पनी सम्पर्कमा नआएपछि करार स्वतः रद्द हुने परिपाटी छ । सोही व्यवस्थाअनुसार सीएमसीसँगको करार भंग भएको र अब बाँकी निर्माण कार्यका लागि अन्य ठेकेदार कम्पनीलाई लगाउन बाटो खुलेको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले ठेक्का रद्द भएको आधिकारिक पत्र सीएमसीलाई पठाइने जनाएको छ । आर्थिक रूपमा टाट पल्टेको घोषणा गरेको सीएमसीले ६ साताअघि कामबाट हात झिकेको थियो ।

प्रतिक्रिया दिनुहोस्