२ करोड लगानीमा मेड एग्रो टेक सञ्चालन «

२ करोड लगानीमा मेड एग्रो टेक सञ्चालन


भरतपुर–९ शरदपुरमा मेड एग्रो टेक प्रालि सञ्चालनमा आएको छ । २६ जना सेयर सदस्यहरुले दुई करोड रुपैयाँको लगानी गरेका छन् ।
कृषि सम्बन्धी काम गर्ने गरी मेड एग्रो सञ्चालनमा आएको हो । एग्रोटेकको उद्घाटन बागमति प्रदेशसभा सदस्य एवं शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले गरे । उनले फलफूलका बिरुवादेखि उच्च गुणस्तरीय बिउ विजन विदेशबाट ल्याउनुपर्ने अवस्थामा एग्रो टेक सञ्चालनमा आउँदा नेपाली मुद्रा विदेशीनबाट जोगिने बताए ।
दाहालले नेपाली रैथाने जातका बिउ बिजन तथा अन्नबालीहरु लोप हुने अवस्था आएको भन्दै तिनीहरुको संरक्षण गर्दै वंश सुधारमा एग्रोटेकले ध्यान दिनुपर्ने बताए ।
मेड एग्रो टेकका अध्यक्ष ऋषिराम न्यौपानेले कृषि सामग्री आयात निर्यात तथा कृषि तालिम सञ्चालन गर्ने मुख्य उद्देश्यले मेड एग्रो टेक सञ्चालन गरिएको बताए । कृषिसँग काम गर्ने सरकारी निकायहरुसँग सहकार्य गर्दै काम गर्न तयार रहेको भन्दै न्यौपानेले मदर प्लान्टका रुपमा उन्नत जातका बिरुवाहरु उत्पादन गरेर बिक्री वितरण गर्ने योजना रहेको बताए ।
बजारमा कृषकहरुले गुणस्तरीय वस्तु तथा सेवा नपाइरहेको अवस्थामा एग्रो टेकले जातीय शुद्धतासहितको गुणस्तरीय कलमी एवं टिस्यु कल्चरबाट तयार गरिएको फलफूलका बिरुवा, कृषि सामग्रीहरुको सुलभ मूल्यमा बिक्री वितरण गर्ने बताए ।
गुणस्तरीय फलफूल, तरकारी र सौन्दर्य जातिका बिरुवाहरुको नर्सरी स्थापना गरी उत्पादित बिरुवा खरिद बिक्री गर्ने, इनडोर प्लान्टको उत्पादन तथा बिक्री वितरण गर्ने, गार्डेनिङ, ल्याण्ड स्केपिङको लागि परामर्श सेवा तथा संरचना बनाउने, कृषि सामग्री तथा बिउबिजन बिरुवा र कृषि उपजहरुको आयात निर्यात गर्ने, प्राङ्गारिक मल, जैविक मलको उत्पादन तथा खरिद बिक्री गर्ने, कौशी तरकारी तथा पुष्प खेतीको प्रवद्र्धन गर्ने कम्पनीका उद्देश्य भएको न्यौपानेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्