दसैंमा बैंक तथा वित्तीय संस्थाले एक अर्बका नयाँ नोट वितरण गर्ने

दसैं तिहारलाई लक्षित गरी यस वर्ष पोखरा क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुका लागि एक अर्ब रुपैयाँबराबारका नयाँ नोट वितरण गरिएको छ ।
पोखरा क्षेत्रमा रहेका ‘क’ ‘ख’ ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको माग बमोजिम करिब एक अर्ब रुपैयाँका नयाँ नोट वितरण गरिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वर भट्टराईले बताए ।
यस वर्ष समयमै नयाँ नोट स्टक राखेकाले दसैंको अवसरमा पोखरा क्षेत्रबाट पनि नयाँ नोट वितरण यही असोज ४ गते देखि सुरु भएको उनले जनाए । सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई पर्याप्त नयाँ नोट उपलब्ध गराएकाले आम उपभोत्ताले जुनसुकै वित्तीय संस्थाबाट नयाँ नोट लिन सक्ने निर्देशक भट्टराईले बताए । यस वर्ष हरेकले ५, १०, २०, ५० र १ सयको एक एक बण्डलसहितको १८ हजार ५ सय रुपैयाँ बराबरको नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
दैनिक जसो करिब ५०÷६० जना नयाँ नोट सटहीको लागि राष्ट्र बैंक पोखरा कार्यालयमा आउन सुरु भएको भट्टराईले जनाए । नयाँ नोट सटहीको लागि दैनिक ३ सय जना जनालाई सेवा दिन सक्ने भएको उनले जनाए ।
उनले भने, “यस वर्ष हामीले यस क्षेत्रका उपभोक्तालाई दसैं लक्षित हुने गरी नयाँ नोट वितरण गर्दछौं, हामीसँग पर्याप्त स्टक रहेको छ ।” गत वर्ष कोरोनाको कारण देखाउँदै सुकिला नोट वितरण गरेको राष्ट्र बैंकले यस वर्ष भने नयाँ नोट वितरण गर्न सुरु गरेको हो ।