लगानी गर्न उपयुक्त वातावरण : अर्थमन्त्री «

लगानी गर्न उपयुक्त वातावरण : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार साउदी अरेबियाका राजदूत मुसैद विन सुलेइमन आइ मारवानले गरेको शिष्टाचार भेटवार्तामा अर्थमन्त्री डा. खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएका हुन् ।
त्यस क्रममा अर्थमन्त्री खतिवडाले साउदी अरेवियासँग भएको स्रोत नेपालमा लगानीका लागि राम्रो अवसर भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले गरेको सहयोगका लागि धन्यवाद दिए । उनले करिव ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै साउदी अरेबिया नेपालीका लागि दोस्रो घर भएको स्मरण गराए । साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पुगेको उनको भनाइ थियो ।
मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्न आग्रह गरे । नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेको जानकारीसमेत उनले दिए । यसबाट साउदी नागरिकलाई पर्यटकको रूपमा नेपाल भिœयाउने र नेपाली कामदारलाई सिधै आवतजात गर्न सहज हुने उनले बताए ।
त्यसक्रममा साउदी अरेबियाका राजदूत मुसैद विन सुलेइमन आइ मारवानले साउदी अरेबिया फन्डमार्फत नेपालमा भूकम्पपछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र निजीआवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जानकारी दिए । नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
दुई देशको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अझै प्रगाढ र बलियो बनाउन साउदी सरकार तयार भएको भन्दै उनले श्रमिकका सम्बन्धमा हुन लागेका सम्झौता छिट्टै निष्र्कषमा पुग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्