मेगा बैंकले भोजपुरका साना किसानलाई सहुलियत दिने «

मेगा बैंकले भोजपुरका साना किसानलाई सहुलियत दिने

मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलार्ई आधुनिक ढंगले कृषि कार्यलाई व्यावसायिकरण गर्न बैंकको शाखा कार्यालयमार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिवद्धता व्यक्त गरे ।
भोजपुर नगरपालिकाका मेयर आलेले मेगा बैंकसँगको सम्झौतापश्चात नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीहरुले सहुलियत ब्याजदरमा कर्जा लिई आफ्ना व्यवसायलाई वृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात बैंकले नगरपालिकाका किसानलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ । साथै, बैंकले उक्त कृषकलाई मेगा किसान कार्ड समेत उपलब्ध गराउनेछ । उक्त कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्