पर्वतमा सामाजिक विकास कार्यालय स्थापना «

पर्वतमा सामाजिक विकास कार्यालय स्थापना

पर्वतमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहने गरी कार्यालय स्थापना गरिएको हो ।
सदरमुकाम कुश्माबजारस्थित वडागाउँमा रहेको साविक भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) रहेको भवनमा यो कार्यालय स्थापना गरिएको हो । विशेषगरी शिक्षा, संस्कृति, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका, अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताए । प्रदेश सरकारका सेवाहरु हरेक जिल्ला जिल्लावाट प्रवाह गर्नका लागि कार्यालय संचालन गरिएको भएपछि स्थानीय तहका अधिकार खोस्न खोजेको आरोप लागेको उनको भनाइ थियो । उनले पछि परेका समुदायका लागि राज्य रहेको अनुभुती हुने गरी प्रदेश सरकारले काम गरिरहेको बताए । मन्त्री श्रेष्ठले पिछडिएको समुदायलाई राज्यको पहुँचमा ल्याउन प्रदेश सरकारले आफ्ना गतिबिधिहरु गरिरहेको दावी गर्दै नागरिकलाई जति राज्यका सेवा सुविधा द्रुत र सर्वसुलभ रुपमा प्रदान गर्न सरकार लागिपरेको बताए ।
पछिल्लो पटक बनेको संबिधान जनतकाको सहभागितामा बनेको भन्दै उनले अहिलेको संघीयताको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले कर्मचारीहरुलाई नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरी काम गर्न निर्देशनसमेत दिए । कर्मचारीले हरेक ठाउँमा देखाउन समस्या राजनीतिक कारणले भएको भन्दै दोसारोपण गर्दा जनताले सुविधा पाउनबाट बञ्चित हुने गरेको उनको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेलले लक्षित बर्गले प्रत्यक्ष फाइदा पुग्ने गरी कार्यालयले काम गर्नुपर्नेमा जोड दिए । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले प्रदेश सरकारले राजनीति गर्नका लागि मात्र कार्यालय विस्तार गर्न नहुने बताउँदै नागरिकहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । उनले संघ र प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरिरहेको आरोपसमेत लगाए ।
फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा संघीयताको सफल कार्यान्वयनमा जटिलता थपिएको बताए । स्थानीय तहका अधिकार क्षेत्रभित्र रहेका कामहरु पनि संघ र प्रदेशले गर्दा दोहोरोपना बढेको बताउँदै आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री लगायतले कार्यालयको सेवा चुस्त र प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्