बुद्ध र यतिद्वारा पर्वतीय उडान पुनः सुरू «

बुद्ध र यतिद्वारा पर्वतीय उडान पुनः सुरू

कोरोना संक्रमणपछि रोकिएको पर्वतीय उडान पुनःसुचारु हुने भएको छ ।
बुद्ध एयर र यति एयरलाइन्सको पर्वतीय उडान यसै साताबाट सुरु गर्ने जनाएका छन् । बुद्ध एयरले आगामी शनिबारदेखि र यतिले आइतबारबाट पर्वतीय उडान सुरु गर्न जनाएका छन् । बुद्धले ९ हजार ९९९ रुपैयाँको शुल्कमा र यति एरलाइन्सले सोही सुविधा ८८४८ मा तिरेर भारतीय, नेपाली नागरिक दुई जनाले पर्वतीय उडानको मनोरम दृष्य दृष्यालोकन गर्ने पाउने छन् ।
यतिले आवासीय विदेशी नागरिकका लागि १३ हजार २७५ भाडादर तोकेको छ । यो टिकट खरिद गर्दा भने यात्रुहरुले दुवै कम्पनीको विमानमा एउटा झ्याल भएको र अर्को सँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछन् । उडानमा ठूलो विमान (एटीआर–७२) प्रयोग गरिनेछ । सोही कारण एक यात्रु झ्यालतर्फ पर्नेछन् भने अर्को यात्रु सँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन् ।
मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । हालका लागि प्रत्येक शनिबार र आइतबार एक उडान गर्ने गरी बुकिङ खुल्ला गरिएको जनाएको छ ।
यात्रुहरुको माग बमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने नीति कम्पनीहरुले लिएका छन् । नेपाली यात्रुहरू तथा आवासीय विदेशी नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतिले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८ सय ४८ र १४ हजार ७ सय ७५ रुपैयाँ भाडादर तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्