रुकुम पूर्वमा निषेधाज्ञा जारी «

रुकुम पूर्वमा निषेधाज्ञा जारी

रुकुम-जिल्ला प्रशासन कर्यालय रुकुम पूर्वले जिल्लामा निशेधाज्ञा जारी गरेको छ । रुकुमपूर्वको सदरमुकाम रुकुमकोट बनाउने वा गोल्खाडा बनाउने पक्षबीच आन्दोलनले जिल्लाको शान्ति सुरक्षमा खलल पु-याउन खोजेपछि निषेधाज्ञा जारी गरिएको हो ।
सदरमुकामको पक्ष–विपक्षको आन्दोलन केही जटिल बनेपछि शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उनका अनुसार अर्को आदेश नभएसम्मको लागि पूर्वमा सिस्ने गाउँपालिकाको वडा नम्बर ५ धौलापहिरा खोला, पश्चिममा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म र दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिद पार्कसम्मको चारकिल्ला भित्र निषेधाज्ञा जारी गरिएको छ ।
उक्त स्थानभित्र कुनै पनि विरोध, सभा, जुलुस र भेला गर्न पाइनेछैन । “अहिले जिल्लाको शान्ति सुरक्षा सामान्य छ । हुन सक्ने घटनालाई मध्यनजर गरी आवश्यक सुरक्षाकर्मी खटाइएको छ,” प्रजिअ शर्माले भने । जिल्लामा देखिएको आन्दोलनलाई राजनीतिक तवरबाट समाधान गर्न बसेको सर्वदलीय बैठक भने बिना निष्कर्ष टुंगिएको थियो ।
नयाँ जिल्ला रुकुम पूर्वको सदरमुकाम गोलखाडा कार्यान्वयन हुनुपर्ने माग गर्दै गोलखाडा पक्षधरले हालको सदरमुकाम रहेको रुकुमकोटमा यही माघ २२ गते सशक्त प्रदर्शन गर्ने घोषणा गरेका थिए । सदरमुकामको अन्योल लामो समय रहिरहँदा त्यस क्षेत्रमा बेलाबेला आन्दोलन भैरहेका छन् । स्थानीय प्रशासनले सदरमुकामको विषयमा पक्ष र विपक्षमा कुनै पनि आन्दोलन नगर्न अनुरोध गरे पनि गोलखाडा पक्षधरले जनता उतार्ने बताएपछि सुरक्षाकर्मी र स्थानीयबीच झडपको सम्भावना थियो ।
नयाँ जिल्ला बनेको रुकुम पूर्वको सदरमुकम शुरुमा रुकुमकोटमा तोकेपनि पछि सरकारले कोलको गोलखाडामा तोकेको थियो । उक्त निर्णयपछि रुकुमकोट सदरमुकाम हुनुपर्ने पक्षधरले सरकारको निर्णय खारेजविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । उक्त रिटपछि तत्काल सदरमुकाम रुकुमकोट नै राख्न आदेश दिएपनि अन्तिम फैसला भने अहिलेसम्म भएको छैन । एक वर्ष हुँदासम्म सर्वोच्चले कुनै फैसला नगर्दा निर्णय विचाराधिन अवस्थामा छ । जसले गर्दा सदरमुकाम पक्षधरले पक्ष–विपक्षमा आन्दोलन गर्दै आएका छन् । यसले समग्र जिल्लाको जनजीवन पनि प्रभावित बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्