थामखर्क विमानस्थलको कालोपत्रे सुस्त

ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको थामखर्क विमानस्थल कालोपत्रेको काम कछुवा गतिमा भइरहेको पाइएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको ९ करोड ३८ लाख ६८ हजार ७ सय रुपैयाँ सहयोगमा कालोपत्रे गर्ने काम रौता कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको भएपनि कम्पनीले कामको सन्दर्भमा ढिलासुस्ति गरीरहेको पाइएको हो ।
०७३ माघ महिनादेखि आउँदो असार मसान्तसम्म दुइ वर्ष भित्रमा सञ्चालनमा ल्याउनेगरी कालोपत्रेको काम सुरु गरेको कम्पनीले हालसम्म ३० प्रतिशत पनि काम गरेको छैन् । उक्त विमानस्थलको धावनमार्ग कालोपत्रेको कामलाई तीव्र रुपमा अगाडी नबढाए त्यसवाट उत्पन्न हुने समस्याको जिम्मा ठेकेदार कम्पनीले लिनुपर्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
ठेकेदार कम्पनीको ढिलासुस्तीबाट नागरिकलाई असर पर्न नदिन नागरिक उड्ययन प्राधिकरणमा ठेकेदारलाई बोलाएर काम चाँडो र गुणस्तरियरुपमा गर्नका लागि पहल गर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराइले बताए । उनले भने, ‘हिउँदमै विमानस्थल सञ्चालन हुनुपर्नेमा अहिलेसम्म कालोपत्रेको कामको रफ्तार नबढ्नु ठेकेदारको चरम लापरवाही हो, काम नगर्ने कम्पनीलाई अवका दिनमा जिल्लामा राखिदैन् ।” कहिलेकाँही ठेकेदारले पनि काम चाँडो सम्पन्न गर्दा त हुन्छ त ? जिल्लाका हरेक योजनामा ठेकेदारले जहिले ढिलासुस्ती गर्ने ? भट्टराईले भने ।
कामको वहानामा विगत नौ महिनादेखी उडान अवरुद्ध भएको विमानस्थल कालोपत्रेको काम हेर्दा अझै त्यहि रफतारमा हो भने १५ वर्ष कालोपत्रेको लागि समय छुट्याउनु पर्ने देखिन्छ, स्थानीय सन्तोषी फुयाँलले बताइन् । उनले भनिन, “ दूरदराजमा भएको एकमात्र विमानस्थल त्यो पनि अलपत्र अवस्थामा छ ।”
विमानस्थलमा हाल १५ जना कामदारहरूले काम गरिरहेको बताउँने ठेकेदार कम्पनी नै तोकिएको म्यादभीत्र काम सम्पन्न गर्न नसकिने अवस्था आएको स्वीकार्छ । कम्पनीका सुपरभाइजर दानबहादुर श्रेष्ठ भन्छन्, “सकेसम्म तोकिएको म्यादभीत्र विमानस्थल कालोपत्रे सकिनका लागि त्यो अनुसारको काम गर्न सकिएको छैन्, तथापि पनि अवका दिनमा कामलाई तिव्ररुपमा अगाडी बढाइनेछ ।”
यातायातको सुविधा नपुगेको त्यस क्षेत्रमा उपचारका लागि तत्काल बाहिर पठाउन नसक्दा बर्षेनी अकालम धेरैले ज्यान गुमाउदै आएका छन् । हिउँद महिनामा मात्र संचालन हुने बिमानस्थलमा नेपाल एयरलाईन्स्ले हप्ताको दुइ पटक थामखर्क–काठमाडौं र थामखर्क–बिराटनगर उडान भर्दै आएको थियो ।
दुइ प्रदेश रहेको खोटाङमा तीन वटा विमानस्थल रहेका छन् । प्रदेश (क) मा लामीडाँडा, प्रदेश (ख) मा खानीडाँडा र थामखर्क बिमानस्थल रहेका छन् । सदरमुकाम दिक्तेलबाट सवैभन्दा नजिक पर्ने खानीडाँडा बिमानस्थलमा कालोपत्रे भएको छ त्यहाँ नियमित उडान भइरहेको छ । लामीडाँडा र थामखर्क दुवै विमानस्थल भने कालोपत्रेको चरणमा रहेका छन् । लामीडाँडा विमानस्थलमा पनि कालोपत्रेको काम भइरहेको छ ।
हिउँद महिनामा मात्र संचालन हुने थामखर्क बिमानस्थलको धावनमार्ग समयमा कालोपत्रे भएर नियमित उडान भए दक्षिणी क्षेत्रका २० भन्दा बढी वडासहित छिमेकी जिल्ला भोजपूरका लाखौ सर्वसाधरणलाई राहत मिलेको छ ।