करेन्ट लागेर तीनजना घाइते «

करेन्ट लागेर तीनजना घाइते

विराटनगर-करेन्ट लागेर विराटनगरमा तीनजना मजदुर घाइते भएका छन् । बिजुलीको तार टाँग्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनीहरू पोलबाटै खसेका थिए ।
हाइटेन्सन तारको विस्तार गर्ने काममा खटिएका मजदुर करेन्ट लागेर घाइते भएका हुन् ।
विराटनगरको बिजुली अफिसचोकमा पोलमा च्यानल लगाउने र तार टाँग्ने काममा खटिएका मजदुर करेन्ट लागेर घाइते भएको मोरङ प्रहरीले जनाएको छ । विकास निर्माणको क्रममा पोल सार्ने र बिजुलीको तार भुुण्ड्याउने क्रममा करेन्ट प्रवाह हुँदा ती मजदुर करेन्ट लागेर पोलबाट झरेका हुन् । पोलबाट झरेर घाइते हुनेमा मोरङको बूढीगंगा गाउँपालिका ४ का ३५ वर्षीय रहिम मियाँ, सोही ठाउँका २२ वर्षीय संजित पासवान र २० वर्षीय मुकेश पासवान छन् । घाइते तीनैजनाको विराटनगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये मियाँको अवस्था चिन्ताजनक छ । काम गर्दै गरेको ११ हजार भोल्टको तारमा करेन्ट प्रवाह हुँदा घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
करेन्ट प्रवाह हुँदा भिन्दाभिन्दै तीनवटा पोलमा चढेका उनीहरू एक्कासि भुइँमा झरेका थिए । मजदुरलाई काममा लगाउने ठेकेदार माधव पोखरेलले बिजुली काटेर काममा लगाइएको पोलमा करेन्ट प्रवाह हुँदा घटना भएको दाबी गरे । मुख्य ठेकेदार पक्षले ९ बजेदेखि ४ बजेसम्म लाइन काट्ने अनुरोध गरेअनुसार लाइन काटिएको भए पनि अचानक करेण्ट प्रवाह भएका कारण घटना भएको उनको भनाइ छ ।
विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहले लाइन सुचारु रहेको पोलमा मजदुर चढेका कारण घटना भएको दाबी गरे । उनले आफूहरूलाई भृकुटी फिडरमा लाइन काट्न भनिएकाले सोहीअनुसार लाइन काटिएको तर मजदुर भने विराटनगर फिडरको करेन्ट प्रवाह भएको पोलमा चढेको बताए ।

प्रतिक्रिया दिनुहोस्