माओवादीका नेताहरू संगठन बिस्तारमा गाउँ–गाउँमा «

माओवादीका नेताहरू संगठन बिस्तारमा गाउँ–गाउँमा

म्याग्दी – नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरू संगठन बिस्तार अभियान लिएर वडास्तरको गाउँ–गाउँमा पुगेका छन् । संगठन सुदृढीकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको धारणा बुझाउन नेताहरूले टोल अभियानमा जुटेका हुन् ।

शक्ति र बिचारमा पार्टीलाई बलियो बनाउन माओवादीले जिल्लाव्यापी सदस्यता नबिकरण, पार्टी र जनवर्गीय संगठन पुर्नगठनसँगै कार्यकर्ता र जनपरिचालनमा जोड दिएर अभियानमा जुटेको जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले बताए । “संघीयता, समावेशी, गणतन्त्र, संविधान जस्ता राजनीतिक उपलब्धी माओवादी आन्दोलनबाट प्राप्त भएको सन्देश लिएर टोल टोलमा पुग्ने कार्यक्रम बनाएका छौं ,” उनले भने । कार्यकर्ताहरूको भावना, विचार, अपेक्षा र गुनासो सुन्ने, समस्या सम्बोधन गर्ने अवसरका रुपमा पनि यो अभियानलाई लिएको धारण व्यक्त गरे ।

अभियानका क्रममा जनयुद्धमा सहभागी नेता, कार्यकर्ता, सहिद परिवार र शुभचिन्तकहरूलाई भेट्नुका साथै संगठनमा जोडेर सक्रिय बनाउने नीति लिएका छन् । नेकपा माओवादी केन्द्र केन्द्रिय कमिटिले जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जालीलाई संयोजक जिम्मेवारी दिएपछि एक नगरपालिका र पाचँ गाउँपालिका रहेको म्याग्दीमा पाटीका नेताहरू र निकट संगठनका नेताहरू गाउँ–गाउँमा पुगेर वडा र टोलस्तरमा संगठन विस्तारलाई ध्यान दिएको बेनी नगरकमिटी अध्यक्ष शेरबहादुर केसीले बताए ।

नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जाली (सुविन)ले जिल्लाका सबै स्थानीय तहमा पार्टी संगठन निर्माणमा जुटेका छौँ, सबै उत्साही भएर लागेको बताए । माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरू गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका माओवादीको कमीकमजोरीको आत्मआलोचना गर्दै संगठन निर्माणमा नेताहरू गाउँ–गाउँमा खटिएको बताए । संयोजक जुग्जालीले संगठनलाई सुदृढीकरण गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा गर्दै जनताहरूको घरदैलोमा पाटीको नेताहरू पुग्ने क्रम जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्